हलिउड फिल्मको छायांकन टोली मुस्ताङमा

...

काठमाडौँ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायांकन गरिन लागिएको हो। हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ। अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो।

उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन्।  थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायांकन गर्ने योजना रहेको छ। सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता,जैविक विविधतालगायतका कुरा  फिल्ममा समेटिने बताइएको छ।

मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायांकन भएको थियो। त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायांकन हुन लागेको हो।  मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अंग्रेजी फिल्म छायांकन भइसकेका छन्।