
काठमाडौँ । अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनीहरुले गायिका समिक्षा अधिकारी र नायक तथा गायक आमेश भण्डारीको स्वरमा ‘फिक्का फिक्का’बोलको गीतमा अभिनय गरेका हुन्। जुन गीतको भिडियो शुक्रबार रिलिज भएको छ। प्रेमिल भावमा बगेको यो गीतका शब्दमा सलोन र करिश्माको जोडीलाई अभिनय गराइएको हो। उनीहरुको जोडी यो गीतको भिडियोमा सुहाएको देखिन्छ। यस गीतको शब्द रचना तथा संगीत गायक भण्डारीले गरेका छन् भने म्युजिक एरेन्ज विश्व अधिकारीको छ।
गीतको शब्दमा आमेशले नै सलोन र करिश्माका लागि गीत लेखिदिएको आभास हुन्छ। यसअघि आमेशले सलोन र करिश्माको फिल्म ‘रंगी’मा गाएका थिए। यस पटक भने उनले ‘फिक्का फिक्का’बोलको गीतमा सहकार्य गरेका छन्। जुन गीतको भिडियो निकै सुन्दर बनेको देखिन्छ। यस गीतको भिडियोलाई कोरियोग्राफी दावा बल तामाङले गरेका छन् भने निर्देशन कविराज गहतराजले गरेका छन्।
सौरभ लामाको टिमले खिचेको यो भिडियोको सम्पादन दिनसन शाहले गरेका छन्। यो गीतको भिडियो गायिका समिक्षा अधिकारी कै युटुब च्यानलबाट हेर्न सकिन्छ।