
काठमाडौँ। ‘शाम्बाला’ चलचित्रमा अभिनय गरेर सबैको मन जितेकी अभिनेत्री थिन्ले ल्हामोले हलिउड फिल्ममा काम गर्ने अवसर पाएकी छिन्। अमेरिकी कम्पनी एप्पलले निर्माण गरिरहेको फिल्म ‘तेन्जिङ’ मा नेपाली अभिनेत्री थिन्ले ल्हामोको पनि अभिनय रहने भएको छ। उनी यो फिल्ममा शीर्ष भूमिकामा देखिन लागेकी हुन्।
तेन्जिङ नोर्गे शेर्पा र उनको १९५३ मा सगरमाथा आरोहणको सत्य कथामा आधारित रहेर फिल्म ‘तेन्जिङ’ बनिरहेको हो। एप्पलले हालै सार्वजनिक गरेको विवरण अनुसार फिल्ममा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गे तेन्जिङको मुख्य भूमिकामा देखिनेछन्। थिन्ले उनको श्रीमतीको रूपमा देखिने छिन्।
फिल्म नेपालको काठमाडौं, ललितपुर, काभ्रे, मुस्ताङ र बन्दीपुर लगायतका स्थानमा समेत छायांकन गरिएको छ। फिल्मको नेपाल छायांकन यसैसाता सकिएको छ।