काठमाडौं । पछिल्लो पुस्ताका चर्चित कमेडियन दिनेश काफ्ले असार ५ मा साँस्कतिक संस्थानको ५३ औं वार्षिकोत्सवका अवसरमा एकाएक स्वर सम्राट ‘नारायण गोपाल’ को स्वरुपमा प्रस्तुत भए । शिरमा भादगाउँले टोपी, आँखामा कालो घेराको चश्मा, खरानी रङको कोट, हातमा हार्मोनियम र पृष्ठभूमीमा ‘फर्किए स्वरसम्राट’ । यो गेटअपमा प्रस्तुत भएका काफ्लेलाई हेर्दा धेरैलाई नारायण गोपालको झल्को दियो ।
काफ्लेले गरेको नारायण गोपालको अभिनयले दर्शकदीर्घाबाट वाहवाही पाइरहेको थियो । सो प्रस्तुतिमा काफ्लेलाई हाँस्यकलाकार खबपु चञ्चल मगरले साथ दिएका थिए । सामाजिक सञ्जालमा उनीहरुको प्रस्तुतिले यतिबेला तारिफ पाइरहेको छ । नारायण गोपालमाथि गरिएको मिमिक्री सम्भवतः यो पहिलो हो । परलोक भइसकेका व्यक्तिको मिमिक्री गर्नु आफैंमा संवदनशील कार्य हो । ‘मेरो जन्महुनुभन्दा पहिला उहाँको निधन भइसकेको थियो,’ काफ्ले भन्छन्, ‘आफूले प्रत्यक्ष नभेटेको मानिसको मिमिक्री गर्नु आफैंमा चुनौति थियो तर पनि उहाँको सम्मानका खातिर मैले गर्नैपर्छ भन्ने लाग्यो र गरेँ ।’
नारायण गोपालका कालजयी गीतहरु आजको पुस्तामा पनि उत्तिकै चर्चित छन् । हासो, रोदन, माया, बिछोड, सफलता, असफलताका बिचमा उनका गीत जनजिब्रोमा हुन्छन् । उसो त आजको पुस्ताका मगजमा पनि पनि नारायण गोपाल अमिट छाप बनेर बसिरहेका छन् । उनै माथि गरिएको मिमिक्री हेर्न दर्शकदिर्घामा उनका सहकर्मी र दौंतरीहरु पनि उपस्थित थिए । झण्डै १८ मिनेट स्टेजमा रहेका काफ्लेले दर्शकदिर्घाबाट वाहवाही पाइरहे । काफ्लेले नारायण गोपालको शैलीमा पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा देखिएको विकृति विसंगती माथि कडा व्यंग्य गरेका थिए ।
राजनीतिक तथा सामाजिक व्यक्तिहरुको मिमिक्री गरेर दिनेश काफ्ले चर्चामा छन् । हाल ‘हाउडे दाइ’का रपमा चिनिएका उनलाई यो उपनाम मुन्द्रेको कमेडी क्लबले दिलाएको हो ।







११ असार २०८२, बुधबार १८:०२ 








