गायनकी गुल्मीकी गहनाः सीमा थापा

...

काठमाडौँ । लोक तथा दोहोरी क्षेत्रमा चम्किँदै गरेकी गायिका सीमा थापा आज नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाउँदै छिन् । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–६ (साबिक कुर्घा गा.वि.स.) स्थायी ठेगाना भएकी सीमा, २०५६ साल पुस २० गते (जनवरी ४, २०००) भीम बहादुर थापा र लाल कुमारी थापाको कोखबाट जन्मिएकी हुन् ।

सङ्गीत यात्रा औपचारिक रूपमा २०२१ मे २६ मा “खुसीको पल” बोलको गीतबाट सुरु गरेकी सीमाले त्यसयता दर्जनौँ गीतहरूमा आवाज दिइसकेकी छिन् । उनको स्वरमा सार्वजनिक भएका चर्चित गीतहरूमा “कैलाश झलल” (भजन), “बत्ती निभेको”, “मुस्कानै मिठो”, “नाटकै बढी मायालु”, “श्रीमान् श्रीमती”, “सप्तरङ्गी टिका”, “पाल्पाको दिग” लगायतका सिर्जनाहरू रहेका छन्।

सीमा थापाले हालसम्म सारङ्गी संसार, ई नेपाल रोधिघर, तिर्सना रोधी, आशिष रोधी, खेलौँ जुहारी, इन्द्रेणी लगायतका कार्यक्रमहरूमा झन्डै ५ सय भन्दा बढी लाइभ दोहोरी प्रस्तुत गरिसकेकी छिन् । उनले राजु परियार, चन्द्र शर्मा, इन्द्र जिसी, खुमन अधिकारी जस्ता नामी गायकहरूसँग युगल गायन गरेकी छिन् ।

sima thapa

सिर्जनात्मकतामा पनि अब्बल देखिएकी सीमा पछिल्ला दिनहरूमा गीत लेखन, लय सिर्जना र सङ्गीत संयोजन तर्फ पनि सक्रिय छिन् । “छुकछुके रेलैमा”, “सुट हान्दिन्छु”, “सनै ढोलकी”, “पाल्पाको दिग”, “सप्तरङ्गी टिका” जस्ता गीतहरूमा लय सिर्जना उनकै छ ।

सादा बोलचाल र मिठो मुस्कानकी धनी सीमा थापाले सङ्गीतमार्फत आफ्नो पहिचान बनाउने मात्र होइन, नेपाली लोकसंगीतको भविष्यमै पनि आफूले योगदान दिन चाहेको बताएकी छिन् । उनी सीमासँग आर्टिष्ट खबरका गोपीकृष्ण चापागाईँले कुरा गर्नुभएको छ:

गायनका कसरी रुचि भयो ?

मेरो परिवारका सदस्य कोहिपनि गायनमा हुनुहुँदैनथ्यो । स्कुल पढ्दा गाउने, नाच्ने गर्दा यो क्षेत्रमा लाग्न मन लाग्यो । बि.स. २०७३ सालमा बाग्लुंगको विद्या मन्दिर स्कुलबाट एसएलसी दिएको हुँ । केही सिकौँ, केही गरौँ भन्ने सोच पहिल्यै देखि थियो । घर खर्च चलाउनका लागी कसरी जागिर खाने, कसरी पैसा कमाउने भन्ने तिर सोचाई भइरहन्थ्यो । एसएलसी पछि बुटवल गएँ, त्यसपछि मेडिकल सेक्टरमा जाने सोच बनाएँ । त्यसपछि मेडिकल सम्बन्धी नै पढ्नुपर्छ भनेर क्लास लिन थालेँ । ल्याब असिस्टेन्ट गर्न थालेँ । मेडिकल सेक्टरमा लागेँ भने सामाजिक काम हुन्छ । मेरो कारणले कसैको ज्यान बाँच्छ भन्ने भयो ।

तिलोत्तमा हस्पिटल र डेनिस क्लिनिकमा काम गरेँ । तिलोत्तमामा २ वर्ष र डेनिसमा डेढ वर्ष काम गरेँ । त्यसो सँगै शङ्कर नगर दुर्गादत्त मा.बि.मा प्लस टु अध्ययन गरेँ । मेरो साथी सरिता पन्थी सँग भेट भयो । उहाँले बागेश्वरी संगीतालयमा एकेडेमीमा गायन सिकाउनु हुन्थ्यो । मैले पनि त्यहाँ उहाँसँगै भोकल क्लास लिन थालेँ । मलाई पनि गायनमा रुचि भयो, त्यहाँ १ वर्ष सिकेँ । मासिक १५०० रुपैंया शुल्क लाग्थ्यो । अझै पनि उहाँले त्यही ठाउँमा म्युजिक सिकाउनुहुन्छ । शैक्षिक हिसाबले मेरो गुरु हुनुहुन्छ । उहाँ मिल्ने साथीको रूपमा पनि हुनहुन्छ । अहिले मैले यो क्षेत्रमा राम्रो गरेको देखेर निकै खुसी हुनुहुन्छ ।

म्युजिक सिक्ने समयमा बढी गीत कुन कलाकारको सुन्नुहुन्थ्यो ?

मेरो रुचि नै बढी लोक गीतमा थियो । गायिका विष्णु माझी, गायक पुष्कल शर्मा, गायक कुशल बेल्बासे, गायिका देवी घर्ती, गायिका शर्मिला गुरुङ, गायिका बिमा कुमारी दुरा लगायतका कलाकारहरूको गीत बढी सुन्ने गर्थेँ ।

sima thapa

विदेश जाने सोच आएन ?

मलाई कहिल्यै विदेशको मोह भएन । देशमै केही गरौँ भन्ने लाग्थ्यो । आफ्नो पौरखीमा खुसी हुने मान्छे भएकाले पनि विदेश जाऊँ भन्ने सोच आएन ।

काठमाडौँमा आएसँगै केके काम गर्नुभयो ?

मेडिकल फिल्डमा असिस्टेन्ट गरेपछि अब टेक्निकल गरौँ भन्ने लागे पनि स्कुल अफ मेडिकल साइन्स वनस्थलीमा इन्ट्रान्स दिएँ । नाम निस्कियो भने काठमाडौँ बसेर पढ्छु भन्ने लागेको थियो नत्र बुटवल फर्किन्छ भन्ने लागेको थियो । नाम निस्कियो र काठमाडौँमै बस्ने निर्णय गरेँ । सी.एम.एल.टी (ल्याब टेक्निसियन) को तीनबर्षे कोर्सका पढिरहेकी छु ।

यही क्रममा वैकुण्ठ महतसँग भेट भयो । उहाँ पनि बुटवलकै हुनुहुन्थ्यो । उहाँले राम्रो गाउँदो रैछौं, लाइभ दोहोरीमा पनि प्रयास गर भन्नुभयो । त्यो बेलामा सारङ्गी संसारका सञ्चालक कमल कुमार बिक सँग भेट भयो । सारङ्गी संसार प्लेटफर्ममा पहिलोपटक रवीन्द्र सुनारसँग लाइभ दोहोरी गाउन अवसर जुटाइदिनुभयो । पहिलो लाइभ दोहोरी नै निकै मन पराइयो । दर्शक तथा श्रोताले फेरी गाउनुपर्‍यो भन्ने प्रतिक्रिया आएपछि फेरी गाउनुपर्छ भन्ने भयो ।

लाइभ दोहोरीमा तपाईँले कुन कलाकारको धेरै फ्लो गर्नुहुन्छ ?

लाइभ दोहोरीका लागी प्रख्यात रहेको सारङ्गी संसारमा केही दोहोरी गाइसकेपछि मलाई वरिष्ठ लोकगायक राजु परियारसँग गाउन मन थियो । उहाँको धेरै सुन्थेँ पनि । गायक रेसम निर्दोष, नेत्र भण्डारीहरूको निधै सुन्थेँ । त्यस्तै सिला आले, रेजिना परियारको पनि निकै सुन्थेँ ।

तपाई हेल्थ  गायन दुवै क्षेत्रमा हुनुहुन्छआफूलाई के भनेर चिनाउन मन पर्छ ?

गीतसङ्गीतमा बढी समय दिएकी छु, त्यसैले गायिका भनेर चिनाउन चाहन्छु तर मेडिकल फिल्डलाई पनि सँगै अगाडी बढाउन चाहन्छु । पहिलोमा गीतसङ्गीत र दोस्रोमा मेडिकल फिल्डलाई राख्छु ।

sima thapa

काम गर्नेक्रममा कस्ता कस्ता अवार्ड तथा सम्मान प्राप्त गर्नुभयो ?

काम गर्ने क्रममा मेरो कामको मूल्याङ्कन गर्दै पाउने अवार्ड तथा सम्मानले थप ऊर्जा मिल्ने रहेछ । २८ अप्रिल २०२४ मा भारतको चण्ड गढमा भारती पिक्चर्सको आयोजनामा भारती इन्टरनेशनल म्युजिक अवार्ड २०२४मा महिला तर्फको वेस्ट लोक गीत नव गायिकाको अवार्ड पाएँ । यस्तै थाइल्यान्डमा आयोजित सगरमाथा म्युजिक अवार्ड २०८१मा महिला तर्फको वर्षको उत्कृष्ट लोक गायिका (जुरी) अवार्ड प्राप्त गरेँ । जुन अवार्ड एनआरएनए एमसिसी थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, नेपाल एअरलाईन्स थाइल्यान्डका कन्ट्री म्यानेजर दामोदर मिश्र र एनआरएनए थाइल्यान्डका सल्लाहका डेभिड खनालको हातबाट पाउँदा निकै खुसी लागेको थियो । त्यस्तै चिनारी तीज म्युजिक अवार्ड तथा श्रृष्टा सम्मान २०८१मा नेपालको प्रथम महिला मुख्य मन्त्री माननीय अष्ट लक्ष्मी शाक्यको हातबाट पाउँदा झन् जिम्मेवारी बढेको महसुस गरेकी थिएँ । उक्त अवार्डमा नाटकै बढी मायालु गीतबाट महिला तर्फको पब्लिक च्वाइसमा उत्कृष्ट गायिकाको अवार्ड पाएकी हुँ । त्यस्तै ३ मे २०२५ मा आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०८१ (निम)मा दोहोरी तर्फको सर्वोत्कृष्ट  गायिकाको अवार्ड पाएकी थिएँ । त्यस्तै ३ जुन २०२५मा पछिल्लो समय पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड २०८१मा सर्वोत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी थिएँ ।