कमेडी नाइट विथ च्याम्पियन आर्थिक संकटमा, लगानीकर्ताबिच विवाद

...

काठमाडौँ।  कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारीले फेसबुकमा लामो स्ट्याटस राख्दै गुनासो पोखेका छन्। उनले आफ्नै कम्पनीका एक लगानीकर्ताले आफूमाथि अन्याय गरी कम्पनीलाई नै धरापमा पारेको  आरोप लगाएका छन्। उनले नाम नखुलाई एक लगानीकर्ताले सम्झौताविपरीत २ करोड ४० लाख रुपैयाँ असुलेको र निरन्तर मानसिक यातना दिइरहेको खुलासा गरेका हुन्।

भण्डारीले लेखेका छन्, ‘राज्य प्रशासनमा भएको पहुँचको दुरुपयोग गर्दै उनले मेरै विरुद्ध बैंकिङ कसुरमा मुद्दा हालेर मलाई दबाबमा राखी २ करोड ४० लाख रुपैयाँ असुले।’ भण्डारीले आफूले लगानीभन्दा बढी ९० लाख रुपैयाँ फिर्ता दिनुपरेको र सो रकमको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन्। यो विवादका कारण कम्पनीको आर्थिक अवस्था संकटमा परेको र ‘कमेडी च्याम्पियन सिजन ३’ का विजेतालाई घोषित पुरस्कार गाडी दिन नसकिएको तथा केही कर्मचारीको तलबसमेत रोकिएको उनले उल्लेख गरेका छन्।

अहिले दुवै पक्षबिच जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनमा विभिन्न मुद्दा चलिरहेको छ। भण्डारीले ती लगानीकर्ताले मुद्दाको पेसी सारेर, मिलापत्र गर्न नमानेर तथा कम्पनीको काममा निरन्तर अवरोध गरेर आफूलाई हैरान पारेको बताएका छन्। उनले आफ्नो स्टाटसमार्फत सरकार, कानुन र न्यायालयसँग आफू र आफ्नो टिममा आश्रित १०० भन्दा बढी कलाकार तथा प्राविधिकको भविष्यका लागि न्याय र काम गर्ने वातावरणको माग गरेका छन्।