फिल्म एक्लो: २ मिनेटको दृश्यलाई ६ घण्टा सुटिङ

...
काठमाडौँ । पाइलट विजय लामाको अगाडी थुप्रै सवारी साधन छन्, सायद कुनै दुर्घटना भइरहेको छ । उनी आत्तिन्छिन्, उनीसँगै नायिका दिया पुन पनि छिन् । दुवै जना दौडिनै अगाडी पुग्छन् । अगाडी एक कार र दूध बोकेको साइकल बिच दुर्घटना भएको हो कि जस्तो पनि देखिन्छ । त्यतिकैमा सिन बिग्रन्छ र निर्देशकले कट भन्छन् । अनि फेरी विजय लामा र दिया पुनले त्यही कुरा पटक पटक दोहोराउँछन् । फेरी दौडिन्छन्, दुर्घटना भएको ठाउँसम्म पुग्छन्, अनि फेरी केही न केही बिग्रन्छ, निर्देशकले फेरी कट भन्छन् । यो नेपाली फिल्म ‘एक्लो’को सुटिङको दृश्यको कथा हो । यसरी नै एक्सन र कट दिनभरि चल्छ, तर चाहिएको थियो जम्मा २ मिनेटको दृश्य ।
eklo nepali movie
केहि दिन अघि मात्रै काभ्रेको पनौतीमा दिनभर लगाएर एउटा सानो दृश्यको सुटिङ गरियो । खासमा दुई मिनेटको वान सट दृश्य अर्थात् क्यामेरा रोल कट नगरी दुई मिनेटको दृश्य खिच्नुपर्ने थियो । त्यसमा कलाकारसँगै दुर्घटना हेर्ने अन्य मान्छे पनि छन्, सबै कुरा मिलाउँदा कुनै न कुनैले बिगारिहाल्छन्, त्यसपछि फेरी सुरुबाटै गर्नुपर्छ । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले त्यो दुई मिनेटको वान सट दृश्यका लागी ६ घण्टा पुरा लागेको बताए । क्षितिजका अनुसार वान सट दृश्य खिच्न त्यसै पनि निकै मिहिनेत र प्लानिङ गर्नुपर्ने तर अहिलेको दृश्यका धेरै कुराहरू जोडिएकाले सबै कुरा मिलाउँदा निकै समय लागेको बताए । फिल्मलाई प्रदीप शाहीले निर्देशन गरिरहेका छन् । फिल्मको सुटिङ हेर्दा निर्देशक प्रदीप शाहीले निकै मिहिनेत गरिरहेका छन् । त्यसो त फिल्मको कथा निकै फरक छ, अन्य फिल्म भन्दा बढी मिहिनेत गर्नुपर्ने देखिन्छ । त्यसैले पनि निर्देशक शाहीले दिनरात मिहिनेत गरिरहेका छन् ।
एक्लो फिल्म एक साइन्स फिक्सन फिल्म हो । यसमा नायक प्रदीप खड्काको मुख्य भूमिका छ । आउँदो पुस महिनामा रिलिजको तयारीमा रहेको यो फिल्मको टिजर पनि केहि समय अघि सार्वजनिक भएको थियो । जसमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको थियो । यो फिल्म कान्स फिल्म फेस्टिभलको मार्केटमा पेस पनि भएको थियो ।
eklo nepali movie
यो फिल्मको खिच्ने काम नेपालमा भएपछि पोस्ट प्रोडक्सन अहिले बेलायतमा भइरहेको छ । नेपाल र बेलायतबिचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास ल्यान्डिङ गर्छन् । नेपाली चलचित्रको बजारमा यो फिल्म अहिलेसम्मकै फरक छ । त्यसैले पनि धेरैले रोचक हुनेमा अपेक्षा राखेका छन् ।