मनिषा कोइरालालाई बेलायतमा सम्मान

...

काठमाडौँ। अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित भएकी छन् । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित भएकी हुन् ।

सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको बताइन् । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एसियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिइन् । ‘यो क्षण म जीवनभर सम्झिरहने छु’,  उनले भनिन्, ‘यो साँच्चिकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लड्र्समा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तीकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।’

कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरु तथा दक्षिण एसियामा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए ।

manisha