फ्रान्समा रिलिज भयो ‘पूजा, सर’

...

काठमाडौँ। गत वर्ष नेपालमा प्रदर्शन भएको फिल्म ‘पूजा, सर’ (राजागंज) बुधबारबाट युरोपियन राष्ट्र फ्रान्समा रिलिज भएको छ ।  फ्रान्सका ६२ हलमा एकैपटक फिल्म रिलिज भएको हो । फ्रान्सअघि ‘पूजा, सर’लाई गत मे महिनामा स्विजरल्याण्डका हलमा प्रदर्शन गरिएको थियो ।

तीन महिना वितिसक्दा पनि अझै ५ वटा सहरमा फिल्म चलिरहेको छ । अब अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनको तयारी गरिएको छ । त्यसका लागि यसै साता मेलबर्नस्थित ‘स्क्रिनएक्सकोप’ले फिल्मको वितरण अधिकार खरिद गरेको छ ।

‘पूजा, सर’मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, ऋचा शर्मा, गौमाया गुरूङ लगायतको अभिनय रहेको छ । सन् २०२४ मा पहिलो पटक भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, ह्याम्बर्ग, मुम्बई, गोथेनबर्ग जस्ता विश्वका थुप्रै प्रतिष्ठित फेस्टिभलमा स्क्रिनिङ भइसकेको छ ।