काठमाडौँ। फिल्ममा अफर आएपछि आयुष सिंह ठकुरी भन्छन्, ‘ठुलो पर्दामा आफूलाई देख्ने सपना पहिल्यैदेखि थियो । अब अवसर पाएकी छु मेहनत गर्छु’ । अब अन्य फिल्महरूमा पनि काम गर्ने सन्दर्भमा आयुष भन्छन्, ‘यो क्षेत्रमा नयाँ छु अग्रजहरूले कसरी गाईडेन्स गर्नहुन्छ सोही अनुसार चल्छु ।’
आयुष र उनकी श्रीमती दुबैले फिल्म खेल्ने हल्ला थियो तर यो फिल्ममा आयुषले मात्रै डेब्यु गदैछन् । फिल्म खेल्ने सन्दर्भमा एलीजे भन्छिन्, ‘म अलि पछि डेब्यु गर्छु अहिले आफ्नै काममा व्यस्त छु ।’ आयुषले कागजी सम्झौता गरी सकेका छन् । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भनेका छन्, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि डेब्यू गर्ने निर्णय लिएको हुँ ।’ यो फिल्मको कथा र आफ्नो भूमिका सशक्त रहेको उनले बताए । यो फिल्मको लागि उनले केही महिनादेखि मिहेनत गरिरहेका छन् ।
साउन २९ गतेदेखि छायाङ्कनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माताको छ । यो फिल्ममा यसअघि विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डिसी, रवि गिरी अनुबन्धित भैसकेका छन् । एकजना अभिनेत्री फाइनल गरेपछि कलाकारको लाइन अप पुरा हुने जनाइएको छ । केही दिनअघि निर्माता किरण नेपालीले पनि आयुष र उनकी पत्नी तथा कन्टेन्ट क्रिएटर एलिजेलाई फिल्मको अफर गरेका थिए । यद्यपि, यसबारे अपडेट आउन बाँकी छ ।







१५ श्रावण २०८२, बिहीबार १०:५० 








