पाँच हजार बढी लोकगीतमा स्वर दिएकी पुर्णकला बिसी, दिनमै १२ वटासम्म गीत रेकर्ड

...

गोपिकृष्ण चापागाईं/ काठमाडौँ । नेपाली लोकसंगीतको आकाशमा आफ्नो मधुर स्वरले जादु छर्ने नाम हो, गायिका पुर्णकला बिसी । बर्दियाको गुलरिया नगरपालिका–१ मा २०४५ साल फागुन १२ गते जन्मिएकी उनी नेपाली लोकदोहोरीको पर्यायझैँ बनेकी छिन् ।

पुर्णकलाको औपचारिक गायन यात्रा २०६६ सालबाट सुरु भए पनि उनी २०६९ सालमा सार्वजनिक भएको ‘डाडै बिसौनी’ गीतसँगै राष्ट्रिय स्तरमा चिनिएकी हुन्। उक्त गीतको अपार लोकप्रियताले उनलाई निरन्तर संगीतको यात्रामा अघि बढाउँदै व्यस्त गायिकाको परिचय दियो।

‘डाडै बिसौनी गीत भन्दा अघि पनि मैले धेरै गीत गाएकी थिएँ तर दर्शक तथा स्रोता माझ चिनिने मौका पाइएको थिएन । जब यो गीत सार्वजनिक भयो, मलाई कलाकार भएर गर्व गर्ने महसुस बनायो । जताततै यो गीत बजेको देख्दा निकै खुसी लाग्थ्यो ।’ गायिका पुर्णकलाले आर्टिष्ट खबरसँग भनिन् । ‘अहिले पनि त्यो गीतको गायिका भनेर धेरै ठाउँमा परिचय बन्छ ।’

Purna Kala Bc

बर्दियाकी पुर्णकलाले अहिलेसम्म करिब ५ हजारभन्दा बढी लोकगीतमा स्वर दिइसकेकी छिन्। कुनै समय अत्यन्त व्यस्त हुँदा उनले एउटै दिनमा १२ वटा गीतसम्म रेकर्ड गराएको सम्झिन्छिन् । अहिले पनि उनले महिनामा कम्तिमा २० भन्दा बढी गीत रेकर्ड गराइरहेकी छन् ।

उनले गाएका ‘मायालुको शहर’, ‘जय जय होस’, ‘जुगजानी माया गरौँला’, ‘रुंदै रुंदै तिम्रो शहर’, ‘सनिसार’, ‘निर्मया आउछौ आउदैनौं’, ‘माईली’, ‘फुल मायामा नभुल’ लगायतका गीत नेपाली दर्शक तथा स्रोताको मनमा गढेका छन् ।

Purna Kala Bc

लोकमा पनि पुर्णकला फरक–फरक भेगका गीतमा गाउन सक्छिन् । विशेषगरी सुदूरपश्चिमका देउडा गीतहरुमा उनको माग असाधारण छ। यही कारणले उनले नेपालभरका थुप्रै सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेकी छिन्। उनले जापान, अस्ट्रेलिया, युके, दुबई र मलेसियासहितका देशमा पनि नेपाली संगीतको प्रतिनिधित्व गरिसकेकी छन्।

संगीतसँग जीवनलाई गाँसेकी यी गायिकाले २०७१ सालमा पोखराका धनकेपीसँग विवाह गरिन् र अहिले उनीहरू दुवै काठमाडौंमा बसोबास गर्छन्। मधुर स्वर, विविध शैली र निरन्तर सिर्जनाले पुर्णकला बिसी आजको नेपाली लोकसंगीतमा अनुपम योगदान दिने कलाकारका रुपमा स्थापित भएकी छिन्।