सबैको मन जितिरहेका हृदयेन्द्र शाह

...

काठमाडौँ। यतिबेला जुम्ला भ्रमणको भिडियो बनाएर सबैको मन जितिरहेका छन् नवयुवराज हृदयेन्द्र  शाह । केहि दिनअघि  हृदयेन्द्र  शाहले फेसबुकमा एउटा आकर्षक भ्लग पोस्ट गरे । जुम्ला उपत्यकामा घुमफिर गर्दै उनले त्यहाँको सौन्दर्यलाई भ्लग मार्फत बाहिर ल्याएका छन् । १५ मिनेटको उक्त भिडियो भ्लगमा उनले जुम्लाको सौन्दर्य उतारेका छन् । उनले त्यहाँको स्याउ खेती, कफिसप खोलेर बसेका स्थानीय युवा, वृद्धवृद्धा, कर्णाली शिक्षालयका विद्यार्थीदेखि स्थानीय युवाहरूसँग भेट पनि गरे ।

भिडियोमा उनलाई एक स्थानीयले हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला ? भनेर सोध्छिन् र जवाफमा हृदयेन्द्र भन्छन्, ‘मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्रो चल्यो भने त अब हुन्छ होला । अलिकति हामी पनि लाग्नुपर्यो । आँट गर्नुपर्यो । हुन्छ होला ।’ यसैकारण पनी हृदयेन्द्रले सबैको मन जितिरहेका छन् ।

पूर्व राजपरिवारका सदस्य तथा पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाहका छोरालाई यो भिडियो मार्फत धेरैले बुझ्ने अवसर पाएका छन् र उनको बोल्ने शैली, व्यवहार सम्मान देखेर चौतर्फी प्रशंसा भइरहेको छ । हृदयेन्द्रको भ्लगलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै रुचाएका छन् । विशेष गरी हृदयेन्द्रको सरलता र भद्रताको प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालमा फ्यानले भिडियो सेयर गरिरहेका छन् । अहिले अमेरिकामा अध्ययन गरिरहेका हृदयेन्द्र स्नातक सकिएपछि देश फर्किने तयारीमा छन्, जुन कुरा उनले भिडियोमा भनेका छन् ।