दुर्घटनामा परेका पशुपति शर्मा भन्छन्, ‘ग्रह कट्यो’

...

काठमाडौँ । गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना परेसँगै उनले आफू सकुशल भएको जानकारी गराएका छन् । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको थियो । पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

गायक शर्माले हात र ओँठमा सामान्य चोट लागेको बताएका छन् । उनले भनेका छन्, ‘त्यस्तो ठुलो चोट लागेको होइन । हातको औलामा सामान्य क्रयाक भएको हो । ओँठमा साधारण चोट छ । यसलाई मैले ग्रह कट्यो भन्छु ।’ कारमा शर्मासँगै गायक शिव हमाल लगायत ४ जना सवार थिए ।