काठमाडौं ।आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ की बाल कलाकार सृष्टि खड्गी अध्ययनरत कपनस्थित बिद्यालय लभ्ली एन्जल्समा चलचित्र युनिट पुगेको छ । चलचित्रका केहि कलाकार र प्राविधिक टिम पुगेर अन्य बिद्यार्थीसँगै शिक्षक, शिक्षिकाहरुलाई चलचित्रबारे जानकारी गराएका थिए ।
पाँचसय हाराहारी बिद्यार्थी रहेका उक्त बिद्यालयमा चलचित्रको टिमबाट कलाकार गौरब पहारी, एसोसियट डिरेक्टर मनिष राउत लगायतको टिम पुगेका छन् । उनीहरुले करिब १ घण्टा बिद्यार्थीहरुलाई जनै हराएको मान्छेबारे जानकारी गराउँदै रमाइलो गरेका थिए । बिद्यार्थीहरुले आफ्नै बिद्यालयको बाल कलाकारको अभिनय रहेको चलचित्र हेर्न आतुर भएको प्रतिक्रिया दिएका थिए ।

८ बर्षिय सृष्टि चलचित्रमा अभिनेत्री केकी अधिकारीको छोरीको भूमिकामा छिन् । १५ वटा म्युजिक भिडिओमा अभिनय गरेकी बालकलाकार सृष्टिको यो पहिलो चलचित्र हो । उनलाई अभिनेता गौरब पहारीले चलचित्रमा अभिनयका लागी अफर गरेका थिए । सृष्टि र गौरबले यसअघिनै एक म्युजिक भिडिओमा काम गरिसकेका छन् ।
भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको यो चलचित्रमा विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ । 
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङको छायांकन निर्देशन र कृष्ण परियारको छायांकन छ ।
पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन् ।







२२ श्रावण २०८२, बिहीबार १६:०८ 








