काठमाडौँ। सडकमा सयौं रिक्सा छन् । एउटै किसिमका रिक्सा, अनि ति सयौं रिक्साको पछाडी एउटै किसिमका पोस्टर । हिजो सुर्खेतमा देखिएको दृश्य हो यो । यहि भदौ १२ गतेबाट एउटा प्रतिक्षित फिल्म रिलिज हुँदैछ । त्यो हो कोशेढुंगा । फिल्म कोशेढुंगाको प्रचार यतिबेला तिब्ररुपमा अगाडी बढाइएको छ । काठमाडौं बाहिर त्यो पनि सुर्खेतमा सयौंको संख्यामा रिक्सामा पोष्टर राखेर निर्माण टिमले फरक शैलीमा फिल्मको प्रचार गरेको हो ।
सुर्खेतमा यो किसिमको प्रचार पहिलोपटक हो । यसरी रिक्सामा ब्यानर राखेर गरिएको प्रचार शैलीलाई दर्शकहरूले निकै चाखलाग्दो र आकर्षक मानेका छन्। ‘कोशेढुङ्गा’ का लुम्बिनी, कर्णाली र सुदूरपश्चिम मिडिया कोअर्डिनेटर कृष्णराज अधिकारीले यस किसिमको प्रचारप्रसार सुर्खेतमा पहिलोपटक गरिएको बताएका छन्।
उनले पश्चिम नेपालमा नेपाली फिल्मको राम्रो क्रेज रहेको र त्यसलाई अझै बढाउन यो अभियान सुरु गरेको जानकारी दिए।अधिकारीले सुर्खेतका साथै नेपालगञ्ज, दाङ, धनगढी र बुटवलमा पनि यसैगरी व्यापक प्रचार गर्ने योजना रहेको बताएका छन् । निर्माण टिमले नेपाली फिल्मको प्रवर्द्धनमा ‘कोशेढुङ्गा’ लाई ‘कोसेढुङ्गा’ साबित गर्ने उद्देश्यले ठूलो खर्च र तयारीसहित रिक्सामा फिल्मको प्रचार गरिएको बताएको छ। यो फिल्म नेपालसहित ४३ देशमा एकसाथ प्रदर्शन हुँदैछ।

फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, निती शाह, दिनेश काफ्ले लगायतका चर्चित कलाकारहरुको अभिनय छ । अर्को महत्वपुर्ण कुरा कोशेढुंगालाई पूर्ण बहादुरको सारंगी जस्तो सुपरहिट फिल्मका निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन् । त्यसैले पनि यो फिल्मलाई बिशेषरुपमा हेरिएको छ ।








१ भाद्र २०८२, आईतवार १२:०२ 








