कमेडी दरबारमा प्रचण्डको नक्कल गरेका बिकासलाई भिडिओ हटाउन धम्की

...

काठमाडौं । यतिबेलाको चर्चित टेलिभिजन कमेडी शो कमेडी दरबारमा पछिल्लो एपिसोडको सामाग्रीलाई लिएर धम्कीपुर्ण फोन आइरहेको कमेडियन बिकाश अर्यालले बताएका छन् । कमेडी दरबारका लेखक समेत रहेका बिकाशले पछिल्लो माग्ने राजा चलचित्र बिशेष एपिसोडमा पुर्वप्रधानमन्त्री प्रचण्डको नक्कल गर्दै प्रस्तुती दिएका थिए । सोहि प्रस्तुतीका कन्टेन्टलाई लिएर बारबार धम्कीपुर्ण फोन आएको जानकारी दिएका छन् ।

‘बिभिन्न अपरिचित ब्यक्तिहरुबाट फोन आइरहेको छ । आफ्नो परिचय खुलाउनुहुन्न तर भिडिओमा बोलिएका केहि सम्वाद हटाउनुहोस् भन्नुहुन्छ ।’ कमेडियन अर्यालले आर्टिष्ट खबरसँग भने । ‘मैले उहाँहरुलाई यो एक कमेडी कार्यक्रम हो र यसलाई कमेडिकै रुपमा लिनुहोस् भन्दै आग्रह गरिरहेको छु ।’

अर्यालका अनुसार भिडिओको ४३ मिनेटमा बोलिएको ‘मलाई समान्य नठान्नुस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लडेको मान्छे हो’ भन्ने कमेडी र ४४ मिनेटमा बोलिएको अर्को सम्वाद जसमा बर्षा सिवाकोटी पनि माओवादी जस्तै लाग्छ भन्दा कसरी भन्ने प्रश्नमा ‘यस्तो लुक्समा हिडेपछि १७ हजार कसो नढाल्लिन् र’ भन्ने सम्वादलाई लिएर आपत्ति जनाइएको बताएका छन् । साथै भिडिओमा ५ हजारको जिम्मा लिएको कुरालाई पनि आपत्ति जनाइएको बताएका छन् ।

कमेडियन अर्यालले हास्य ब्यंग्यलाई हास्य–व्यंग्यकै रूपमा लिन आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्, ‘कृपया हास्य–व्यंग्यलाई हास्य–व्यंग्यकै रूपमा लिनुहोस्। हाम्रो उद्देश्य केही क्षणका लागि भए पनि हसाउनु हो, विवाद ल्याउनु होइन।’