१६८ औं विश्व फोटोग्राफी दिवस : पाटन दरबार स्क्वायरमा फोटो वाक तथा प्रतियोगिता सम्पन्न

...

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको आयोजनामा १६८ औं विश्व फोटोग्राफी दिवसको अवसरमा ‘फोटो वाक तथा फोटो प्रतियोगिता–२०२५’ पाटन दरबार स्क्वायरमा सम्पन्न भएको छ । कार्यक्रम भदौ ३ गते बिहान ७ बजे सुरु भएको थियो। कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका फोटोग्राफरहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ऐतिहासिक सम्पदा, कला र संस्कृतिको बीचमा आयोजित यस फोटो वाकले सहभागीलाई सिर्जनात्मक अभ्याससँगै आपसी एकता र सहकार्यको सन्देश दिएको छ।

काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘फोटोग्राफी हाम्रो इतिहास र संस्कृतिको दस्तावेज हो। हामीले सिर्जनामा नयाँपन ल्याउँदै प्रविधिसँग कदम मिलाउँदै, तस्वीरमार्फत समाजलाई प्रेरित गर्ने प्रयास गर्नुपर्छ। सौन्दर्य मात्र होइन, हाम्रो क्यामेराले हाम्रो पहिचान र इतिहासलाई पुस्तौँसम्म सुरक्षित राख्ने जिम्मेवारी बोकेको छ। त्यसैले प्रत्येक तस्वीर केवल दृश्यात्मक रमाइलोपनाको लागि साथै, सत्य, मानवता र सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्न प्रयोग गर्नुपर्छ । ‘

संघका सल्लाहकार रत्नमान आन्शु , फोटो कर्नसनका दिनेश अर्याल, बद्ध मानन्धरले सम्पूर्ण फोटोग्राफर “विश्व फोटोग्राफी दिवसको हार्दिक शुभकामना’ व्यक्त गर्दै फोटोग्राफीलाई समाज र संस्कृतिको पहिचानसँग जोड्न सबैलाई आग्रह गरे। कार्यक्रमको सञ्चालन संघका सचिव रेशमराज पण्डितले गरेका थिए। कार्यक्रममा सहज कर्ता आम यादवले फोटो प्रतियोगिताका नियमहरू स्पष्ट रूपमा उपस्थित सबैलाई जानकारी गराए ।