‘माइतीघर’का निर्देशक मिलन तामाङले नयाँ फिल्म ‘कहाँ भेटिएला’ बनाउने

...

काठमाडौं — ‘माइतीघर’का निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। यसैबीच, फिल्मका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई छ।  यस फिल्मको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन।

यस फिल्ममा को को कलाकार र प्राविधिक रहन्छन् भन्ने बारेमा पनि निर्देशक तामाङले बताएका छैनन्। उनले केहि दिनपछि फिल्मको सम्पुर्ण जानकारी दिने बताए।
‘अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ,‘उनले भने,‘केहि दिनमा फिल्मको कलाकार र प्राविधिकहरुको बारेमा जानकारी दिदै जानेछाँै।’
निर्देशक तामाङले ‘माइतीघर’बाट पहिलोपटक निर्देशन यात्रा सुरु गरेका थिए, जुन फिल्मले दर्शकको प्रशंसा पाइरहेको छ। सोही कारण उनले २०८२ सालको नम्बर १ डेब्यु निर्देशकको उपाधि समेत हात पारेका छन्।
दशैंको फुलपातिमा एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘हरि बहादुरको जुत्ता’,‘बलिदान’ र ‘माइतीघर’मध्ये ‘माइतीघर’लाई दर्शकले निर्देशनका हिसाबले राम्रो मानेका छन्।
‘माइतीघर’ले बक्सअफिसमा राम्रो व्यापार मात्र गरेन, निर्देशक मिलन तामाङको नामलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरिदियो। उनी फिल्म, एनिमेशन, क्लासिकल म्युजिक र अभिनयको गहिरो अध्ययनमा पारंगत मानिन्छन्।
हाल ‘माइतीघर’को सो अझै पनि देशभर चलिरहेको छ। फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको समयमा उनले भने,‘ ‘कहाँ भेटिएला’लाई अझ नेक्स्ट लेभलमा बनाएर दर्शकलाई नयाँ अनुभूति दिनेछु।’

फिल्म क्षेत्रका विश्लेषकहरूका अनुसार अहिले मिलन तामाङ र ‘माइतीघर’ दुवै देशभर चोक–चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेका छन्। उनका समर्थकहरूका अनुसार उनले बलिदानजस्ता ठूला बजेटका फिल्मलाई समेत प्रतिस्पर्धा दिँदै नेपाली फिल्म निर्देशनमा नयाँ स्तर स्थापित गरेका छन्।