काठमाडौं । कात्तिक ६ गते भाइटीकाका दिन चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको क्यारेक्टरबाट आफूलाई नेपाली सिने बजारमा मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो चलचित्रमा कस्ता देखिनेछन् ? ‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय यो चलचित्रमा योङ एन्ड इनजेटिक पात्रमा देखिनेछन् । जहाँ उनले समाजमा वरिष्टको छवि बनाएर बसेको व्यक्तिलाई चुनौती दिन्छन् । राज्य प्रशासन समेत आफ्नो मुठ्ठीमा लिएर बसेको दयाहाङको पात्रलाई ठेगान लगाउने भन्दै हिँड्ने उनको क्यारेक्टर छ ।
‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।







३ कार्तिक २०८२, सोमबार १२:०३ 








