फेरि सर्‍यो फिल्म अभिमन्युको रिलिज मिति, अब कहिले ?

...

काठमाडौँ । लामो समयदेखि प्रतिक्षामा रहेको नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ फेरि पनि निर्धारित मितिमा रिलिज नहुने भएको छ।
पहिलो पटक भदौ २७ गते सार्वजनिक प्रदर्शनमा ल्याउने तयारीमा रहेको फिल्म विभिन्न कारणले बारम्बार मिति सारिँदै आएकोमा अब कात्तिक २१ गते पनि प्रदर्शन स्थगित भएको निर्माता पक्षले जनाएको छ।

फिल्मका निर्माता विनोद पौडेलका अनुसार, यसपटक हलहरूले शो उपलब्ध नगराएकाले प्रदर्शन स्थगित गर्नुपरेको हो।
“पहिले जेनजी आन्दोलन, त्यसपछि अविरल वर्षा र अहिले हलको शो नपाएर फिल्मको प्रदर्शन रोकिएको हो,” निर्माता पौडेलले भने, “अब हलसँग अन्तिम छलफल भइरहेको छ। रिलिज मिति छिट्टै टुंगो लगाइनेछ।”

फिल्मको प्रदर्शन मिति यसअघि चार पटक परिवर्तन भइसकेको छ।
पहिलो पटक भदौ २७ गतेका लागि तय गरिएको मिति जेनजी आन्दोलनका कारण सरेको थियो।
त्यसपछि फिल्म असोज १३ गते (फूलपातीको दिन) रिलिज गर्ने तयारी गरिएको थियो। तर सो मितिमा ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ रिलिज हुने भएकाले प्रतिस्पर्धा टार्न पुनः सारियो।
तेस्रो पटक असोज २४ गते मिति तय गरिएको थियो, तर देशभर परेको अविरल वर्षा र त्यसले पुर्‍याएको क्षतिको कारण पुनः स्थगित गरिएको हो।
अन्ततः फिल्म कात्तिक २१ गते रिलिज गर्ने निर्णय गरिएको भए पनि हलको शो नपाउँदा यो मिति पनि कायम रहन सकेन।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको ‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने तयारीमा छ।
फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलको प्रमुख भूमिका रहेको छ।

फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्।
निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सहनिर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ, तथा कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

निर्माताले भनेका छन्, “हामी अहिले हलहरूसँग समन्वयमा छौं। अब रिलिज मिति अन्तिम गर्ने तयारीमा छौं, ताकि फेरि मिति सार्न नपरोस्।”