काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मन बिनाको धन’ ले रिलिजको केही दिनमै उत्कृष्ट व्यावसायिक सफलता हात पारेको छ। सुरुवाती दिनमा सीमित शो पाएको फिल्म अहिले देशभरका हलहरूमा शो संख्या उल्लेख्य रूपमा बढेको छ।
निर्देशक टंक बुढाथोकीका अनुसार दर्शकको सकारात्मक प्रतिक्रियाले फिल्मको प्रदर्शन विस्तारमा ठूलो भूमिका खेलेको छ। “फिल्मले सुरुवातमा कम शो पाएको थियो, तर दर्शकको राम्रो प्रतिक्रिया आएपछि अहिले शो र हल दुवै बढेका छन्,” उनले बताए। “स्कुलका विद्यार्थीदेखि वृद्ध दर्शकसम्म हलमा देखिनु फिल्मप्रतिको जनप्रियताको प्रमाण हो।”
फिल्ममा अशोक दर्जी, नीता ढुंगाना र रमेश विश्वकर्माको अभिनय विशेष चर्चामा छ। दर्शकहरूले तिनै कलाकारको प्रस्तुति र कथावस्तु दुवैलाई मन पराइरहेका छन्।
व्यवसायिक हिसाबले पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको छ। सोमबार मात्रै नेपालगञ्जस्थित सिने रोयलमा सातवटा शो र क्युएफएक्स बागेश्वरीमा दुई शो हाउसफुल भएको थियो। त्यस्तै, इटहरी, बिर्तामोड, दमक, विराटनगर, चितवन, पोखरा र दाङमा दर्शकको भीड दिनदिनै बढ्दो छ।
सुरुको दिनमा करिब ९५ शो पाएको ‘मन बिनाको धन’ ले अहिले देशभर करिब सवा सय शो पाउँदै उचाइ लिएको निर्देशक बुढाथोकीले बताए। कलाकारहरू पनि अहिले राजधानीका विभिन्न हलहरूमा पुगेर प्रत्यक्ष रूपमा दर्शकको प्रतिक्रिया संकलन गरिरहेका छन्।







२५ कार्तिक २०८२, मंगलवार १४:१६ 








