काठमाडौं । मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो।
चलचित्रका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने,‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका फिल्म वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।’
निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले पनि विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मप्रतिको चासो उच्च देखिएको छ। उनका भनाइमा, “फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरुप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ।”
हालै सार्वजनिक भएको फिल्मको गीत ‘टाटा बाइ बाइ’ ले पनि सामाजिक सञ्जालमा राम्रो लोकप्रियता पाइरहेको छ। गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेको छ भने टिकटकमा समेत यसको शब्द र धुनमा बनेका छोटा भिडिओहरू व्यापक बनेका छन्।







२५ कार्तिक २०८२, मंगलवार १६:०६ 








