काठमाडौँ — पारिवारिक भावना र आन्तरिक सम्बन्धमा आधारित चलचित्र ‘आ बाट आमा’ आउँदो माघ १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। बुधबार निर्माण टिमले रिलिज मिति सार्वजनिक गर्दै फिल्मका दुई नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ, जसले चलचित्रको कथावस्तुको झल्को दिएको छ।
फिल्मको ट्यागलाइन — “बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनाउनुपर्यो” — ले नै यसले आमाबुबा र सन्तानबीचको भावनात्मक अन्तरद्वन्द्व चित्रण गर्ने संकेत गर्छ।
पोस्टरहरूमा कलाकारहरूको दुई फरक मूड देखिन्छ पहिलोमा बिपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त र साइग्रेस पोखरेल खुसी मुद्रामा देखिएका छन्।
तर दोस्रो पोस्टरमा दृश्य पूर्णतः विपरीत छ बिपना र प्रदीप अँगालोमा बेरिएर रोइरहेका छन् र छोरा पल शाह रगताम्य मुद्रामा प्रस्तुत छन्, जसले कथाको भावनात्मक गहिराइ संकेत गर्छ।ग्रामीण परिवेशमा आधारित यो चलचित्रले आमा–बुबा र छोराछोरीबीचको सम्बन्ध र पीडादायी सामाजिक यथार्थलाई चित्रण गर्ने बताइएको छ।
फिल्मका निर्देशक चन्द्र पन्त हुन्, जसले यसकै लेखन र पटकथा पनि तयार गरेका छन्। आर्या पन्तको प्रस्तुतिमा बनेको यस चलचित्रमा बिपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दिलीप उखेडा र रचना गौतमलगायतका कलाकारले अभिनय गरेका छन्।
निर्मातामा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना छन् भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्।
फिल्म आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो। नवराज उप्रेतीको छायांकन र कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको संगीत रहेको छ।
फिल्मको विदेश प्रदर्शन अधिकार केही देशमा पहिले नै बिक्री भइसकेको छ हिमारु इन्टरटेन्मेन्ट प्रालिले अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन अधिकार लिएको छ।
नेपालमा भने आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले हात पारेको छ।







२६ कार्तिक २०८२, बुधबार १३:३२ 








