काठमाडौँ — निर्देशक दिनेश राउतको प्रेम–कथामा आधारित नयाँ नेपाली फिल्म ‘कुमारी’ ले छायांकन चरण पूरा गरेको छ। गत भाद्र १७ गतेबाट सुरु गरिएको सुटिङ करिब एक महिनापछि सम्पन्न भएको निर्माण पक्षले जानकारी दिएको हो। अब फिल्म पोस्ट–प्रोडक्सनमा प्रवेश गर्दैछ भने केही दिनमै प्रदर्शन मिति घोषणा गरिने तयारी छ।
फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिँदैछन्। उनीहरूलाई घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारले साथ दिएका छन्। सुसन प्रजापति फिल्मका छायाकार हुन्।
बिनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको यो चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले तयार पारेका हुन्। संगीत विभागमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त काम रहनेछ।
निर्माण टिमका अनुसार ‘कुमारी’ यसै वर्ष भित्रै दर्शकमाझ ल्याउने लक्ष्य रहेको छ।







१ मंसिर २०८२, सोमबार १६:५९ 








