गान्तोक (भारत) । उत्तरपूर्वी भारतीय राज्य सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी मार्ग बुधबार सांगीतिक र सांस्कृतिक रौनकले भरिएको थियो। त्यहाँ ‘ऊनको स्वीटर साँझ’ नामक विशेष कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो।
शुक्रबारदेखि भारतका विभिन्न सहरमा प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को प्रचार–प्रसारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा फिल्मका संगीतकार तथा गायक सुजन चापागाईंले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै वातावरणलाई झन् रोमाञ्चक बनाएका थिए।
निर्माताको विज्ञप्तिअनुसार हजारौँ दर्शकको उत्साहपूर्ण उपस्थितिले भारतका नेपालीभाषी समुदायमा नेपाली चलचित्रप्रतिको रुचि र समर्थन थप प्रस्ट पारेको छ।
फिल्म टिमको सहभागिता नेपाली टोलीबाट अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, संगीत निर्देशक कोविद बज्र, छायांकार चिन्तन राजभन्डारी, कार्यकारी निर्माता मिलन खत्री र सागर बुढाथोकीलगायत उपस्थित थिए।
स्थानीय कलाकारको आकर्षक प्रस्तुति सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकार अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्यापर देवा र सोनम ओङ्मु इथेन्पालले पनि मनमोहक प्रस्तुति दिए।
अमृता राईले फिल्मको चर्चित गीत ‘काफ्ले’ मा नृत्य प्रस्तुत गरे भने नेपालबाट पुगेका नर्तक सुरज सिंजाली मगरले ‘चाइनेजो जिन्दगानी’मा आफ्नो प्रस्तुति दिए।
भारतभर प्रदर्शनको तयारी ‘ऊनको स्वीटर’ शुक्रबारदेखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलमा एकसाथ रिलिज हुँदैछ। एसली प्रोडक्सन फिल्मको भारतीय वितरण जिम्मेवारीमा रहेको छ।
कन्सर्ट घोषणा सोही अवसरमा गायक सुजन चापागाईंले आगामी २३ डिसेम्बरमा ‘सुजन चापागाईं एन्ड द इन्फिनिटी’ ब्यान्डको गान्तोकमा ठूलो कन्सर्ट हुने घोषणा गरे।
बक्सअफिसमा सफलता नेपाली बक्सअफिसमा पनि ‘ऊनको स्वीटर’ले उत्कृष्ट व्यापार गरिरहेको छ। यो समाचार तयार गर्दासम्म फिल्म २०८२ सालको दोस्रो बढी कमाउने स्वदेशी फिल्म बनेको छ, जसले साढे ११ करोडभन्दा बढी आम्दानी गरिसकेको छ।







४ मंसिर २०८२, बिहीबार १४:०५ 








