काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक गरिएको छ । डा।यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा रहेको काव्यलाई संगीतकार सन्तोष श्रेष्ठको संगीत भरेका छन् ।
मिलापको आयोजनामा साहित्यकार लेखनाथ पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा गीता अधिकारीले स्वागत मन्तव्य राख्दै मिलापका पछिल्ला कार्यको चर्चा गरे । कीर्तिमानी संगीतकार श्रेष्ठले काव्यबाट लिएको हुनाले आफूहरूले छन्दभंग नहुने गरी गीत तयार पारिएको जानकारी गराए ।
डा.बुनु दाहालले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वका बारेमा आफू परिचित रहेको बताउँदै उहाँका साहित्य सिर्जनाको विशिष्ठ गुण रहेको आफूले पाएको बताए । यस्तै, विशिष्ठ कलाकार उत्तम केसीले गीतका शब्द अत्यान्तै मार्मिक रहेको बताउँदै ‘आमा’ शब्दमा रचना गरिएको गीत उत्कृष्ट रहेको जिकिर गरे । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले साहित्यमा एउटा उचाइ प्राप्त गर्नुभएको व्यक्त दाहाल गीतकारका रूपमा पनि त्यतिकै सशक्त रहेको आफूले पाएको धारणा राखे ।
जनकविकेशरी धर्मराज(सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन थापाले गीतको समीक्षा गर्दै एउटा उत्कृष्ट गीत श्रोता÷दर्शकमाझ आएको बताए । महाकाव्यकार दाहालले आफूले ‘योद्धा’ काव्यमा समावेश गरेका पंक्तिलाई सन्तोष र ज्ञानु दिदीको सहकार्यमा यो गीत रकेर्ड गरिएको बताउनुभयो । ‘योद्धा’ काव्य कसरी तयार भयो भन्ने सन्दर्भ उनले प्रस्तुत गरेका थिए ।
लाब्री, तेह्रथुमका साहित्यकार खेमनाथ दाहालका ‘श्वेतपत्र’ (महाकाव्य), ‘रश्मि’ (खण्डकाव्य) तथा ‘श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु’ जस्ता कवितासंग्रह प्रकाशित छन् । यस्तै उहाँका ‘यात्राको सिकर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास र ‘सिर्जनामा दृष्टि’ भूमिकासंग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।







५ मंसिर २०८२, शुक्रबार १०:४४ 








