काठमाडौं — अभिनेत्री वर्षा राउत पछिल्ला दिनमा आफ्नो नयाँ फिल्म हर्ष को प्रचारप्रसारमा निरन्तर व्यस्त छिन्। केही दिनअघि श्रीमान् संजोग कोइरालासहित टिभी अन्तर्वार्तामा देखिएकी वर्षाको वैवाहिक सम्बन्ध, विगतका खटपट र हातमा देखिएको एक दागसमेतले सामाजिक सञ्चालमा बलियो चर्चा पायो।
तर, अन्तर्वार्तापछि सामाजिक सञ्जालमा आएका टिप्पणीले वर्षालाई झन् दुस्खी बनायो। सोमबार बिहान उनले एक प्रयोगकर्ताले गरेको टिप्पणीको स्क्रिनसट सार्वजनिक गर्दै भावनात्मक र मर्मस्पर्शी स्टाटस लेखिन्।
स्टाटसमा वर्षाले लेखिन्— “यो समाजमा बाँच्न मलाई निकै गाह्रो भइसक्यो।”
उनले महिलाले सहनुपरेका धोका, चोट र बेइज्जतीमा समाजले चासो नदिने तर उनीहरूले आवाज उठायो भने उल्टै दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरिन्।
वर्षाले समाजको दोहोरो चरित्रतर्फ संकेत गर्दै भनिन्—
“सच्याइनुपर्ने त समाज आफै हो। परिवर्तन चाहिन्छ भन्छन्, तर बदलिन कसैलाई मन छैन। यही कारणले मान्छे एक्लो महसुस गर्छ, थाकिन्छ र कहिलेकाहीँ अन्धकारतिर तानिन्छ।”
उनले थप लेखिन्—
“हाम्रो समाजले ‘सबै राम्रो देखिनुपर्छ’ भन्ने मुखौटा त लगाउँछ, तर भित्रको गल्ती, अन्याय र असमानता बदल्न तयार हुँदैन। श्रीमतीलाई ‘लाटी’, ‘अलच्छिनी’ जस्ता अपमानजनक शब्दले गाली गर्दा पनि समाज मौन बस्छ।”
वर्षाको आक्रोश यत्तिमै रोकिँदैन। उनले भन्छिन् “श्रीमतीले सहनुपरेको चोट, धोका र बेइज्जती कसैले देख्दैन। तर एउटी महिलाले आफ्नो आवाज उठाएर साधारण ‘तिमी’ जस्तो शब्द बोलिन पनि समाजले उसैलाई दोष दिन थाल्छ। मानौँ महिलामाथि थुकेको परिमाणले समाजको इज्जत बचेको हो।”
यस्तो भावनात्मक पोस्टपछि वर्षाका श्रीमान् संजोग कोइरालाले उनको स्टाटसमा टिप्पणी गर्दै ढाडस दिएका छन्।
संजोगले लेखे—
“टिप्पणी गर्न रुचाउने मानिसहरूको निर्णयप्रति शंका गर्नु तिम्रो गल्ती होइन। घृणामाथि प्रेम सधैं जित्छ, र तिमीलाई लाखौँ मानिसले माया गर्छन्। चिन्ता नगर यही टिप्पणी गर्ने व्यक्ति भोलि तिम्रै फोटो माग्दै ‘बिग फ्यान’ भन्छ।”
वर्षा राउतले यसअघि पनि आफ्ना वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव र मनोभाव व्यक्त गर्दै आएकी छिन्।







८ मंसिर २०८२, सोमबार १३:३० 








