प्रदर्शनमा आयो फिल्म ‘अभिमन्यु’

...

काठमाडौँ । लामो समयदेखि रिलीज मिति अल्झिएको नेपाली फिल्म ‘अभिमन्यु’ले पाँचौँ प्रयासमै शुक्रबारदेखि सन्तोषजनक शोसहित देशभर प्रदर्शन थालिएको छ। पटक–पटक मिति सारिँदा फिल्मप्रति बनेको उत्सुकता अब हलमा रूपान्तरण भएको देखिन्छ।

यसअघि भदौ २७ मा रिलिज गर्ने तयारी भए पनि जेनजी पुस्ताको आन्दोलनका कारण फिल्म पछाडि धकेलिएको थियो। त्यसअघि साउन २३, असोज २४ र कात्तिक २१ मा पनि घोषणा गरिएका मितिमा हलसम्म पुग्न नसकेको ‘अभिमन्यु’ले अब भने मल्टिप्लेक्सहरूबाट पर्याप्त शो पाउन सफल भएको छ।

देशभर एक सयभन्दा बढी शो पाएको फिल्मलाई क्यूएफएक्सले काठमाडौंका आउटलेटहरूमा ११ भन्दा बढी शो दिएको छ। आईएनआई चेनले ५ स्थानमा ११ शो दिएको छ भने वान सिनेमाजका २ आउटलेटमा ६ शो राखिएको छ। बिग मुभिज र एफक्युबले २–२ शो प्रदान गरेका छन्।

यसअघि काठमाडौंमा भएको प्रिमियरमा फिल्मको विषयवस्तु, प्रस्तुति, निर्देशन र कलाकारको अभिनयको राम्रै प्रशंसा भएको थियो। सुशान्त गौतमको डेब्यू निर्देशन रहेको यस फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश दाहाल, किरण श्रेष्ठलगायतका कलाकारको भूमिका रहेको छ।

लेखक मुकेश खनालको कथा समेटिएको फिल्म विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका फिल्ममा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन्। शरद महतोको सिनेमाटोग्राफी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ।