काठमाडौँ। अभिनेता कामेश्वर चौरसिया र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिकामा निर्माण भएको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ आज (बिहीबार) देखि देशभर प्रदर्शनमा आएको छ। सामान्यतया शुक्रबार रिलिज हुने नेपाली फिल्महरु चाडपर्वका अवसरमा अन्य दिन पनि रिलिज हुने प्रथा अनुरूप यो फिल्म धान्य पूर्णिमा र उधौली पर्व लक्षित गर्दै प्रदर्शनमा ल्याइएको हो।
सुशान्त गौतमले निर्देशन गरेको फिल्मले हलहरूमा राम्रो शो पाएको बताइएको छ। कामेश्वर–लक्ष्मीको साथमा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल र शिशिर बाङदेलको अभिनय रहेको यस फिल्ममा अभिनेत्री रेखा थापा अतिथि भूमिकामा देखिएकी छन्।
मुकेश खनालद्वारा पटकथा लेखिएको फिल्मको सोमबार आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माता पक्षले जनाएको छ। दर्शकबाट पनि राम्रो ‘वर्ड अफ माउथ’को अपेक्षा राखिएको छ। “फिल्म मेकर, कलाकार र पत्रकारहरूबाट सकारात्मक प्रतिक्रिया पाएपछि झनै उत्साहित छौँ,” अभिनेता कामेश्वरले बताए।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सहनिर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेकामा कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।
शरद महतो छायांकन, मनोज श्रेष्ठ भिएफएक्स र मदन घिमिरे सम्पादनमा रहेको ‘अभिमन्यु : च्याप्टर–१’ नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी रूपमा रिलिज भएको छ।







१८ मंसिर २०८२, बिहीबार १४:१७ 








