‘एक्लो–१’ को ट्रेलर सार्वजनिक

...

काठमाडौँ । ‘साइन्स फिक्सन’ जनरामा निर्देशक प्रदीप शाहीले बनाएको नयाँ फिल्म ‘एक्लो–१’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार ललितपुरको लाबिम मलमा ट्रेलर सार्वजनिक गरिँदै नेपाली फिल्मलाई प्रविधि र कथावाचन दुवैमा नयाँ मोड दिने संकेत गरेको छ।

यो फिल्मको विशेषता केवल कथा वा कलाकार मात्र होइन, यसले उठाएको नेपालको भविष्य–कल्पना हो—जहाँ एकातिर महामारीले ल्याएको संकट छ, अर्कातिर अन्तरिक्षसम्म पुगेको नेपालको प्राविधिक क्षमता देखाइएको छ। नेपाली फिल्ममा यस्ता ‘कन्ट्रास्टेड फ्यूचर’को चित्रण दुर्लभ मानिन्छ।

ट्रेलरमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, बेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरीलगायत लोकप्रिय कलाकारको उपस्थिति देखिन्छ । फिल्ममा बेलायती कलाकार जेमी बेगनको सहभागिता भने अन्तर्राष्ट्रिय आकर्षण थप्ने प्रयासका रूपमा हेरिएको छ।

पोस्ट–प्रोडक्सन लण्डनमा सम्पन्न गरिएको ‘एक्लो–१’मा डीओपी बाबु श्रेष्ठ, सम्पादक रुपेश गुरुङ र संगीत निर्देशक रोहित शाक्यको काम उल्लेखनीय देखिन्छ। उच्च भिजुअल टोन, डिजिटल कम्पोजिसन र सिने–टेक्निकल प्रयोगले पनि ट्रेलरलाई खास बनाएको प्रतिक्रिया आउन थालेका छन् ।

eklo movie trailer

कार्यक्रममा नायक प्रदीप खड्काले “फिल्मले नेपाली सिनेमालाई नयाँ बाटो देखाउनेछ” भन्दै यो प्रोजेक्ट आफ्नो करियरकै फरक अनुभव भएको बताए। निर्देशक शाहीले भने, “कथावस्तुले नेपाल मात्रै होइन, विश्व बजारलाई लक्षित गर्दै निर्माण गरिएको छ। ” उनले ग्लोबल साइ–फाइ स्ट्यान्डर्डमा प्रतिस्पर्धा गर्ने दाबी गरे।

उस्तै रोमान्टिक, एक्सन वा कमेडीमा सीमित हुँदै आएका नेपाली दर्शकका लागि ‘एक्लो–१’ नयाँ स्वाद साबित हुने अपेक्षा गरिएको छ। अब फिल्मले ल्याउने ‘नेपाली भविष्यको कल्पना’ कति प्रभावकारी बन्छ—त्यो भने रिलिजपछि नै स्पष्ट हुनेछ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह साथै बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय रहेको छ।

एनआरएन समुहको लगानीमा बनेको चलचित्र ‘एक्लो’ का कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्। फिल्मको छायाङ्कन बाबु श्रेष्ठले गरेका छन्। द्वन्द्व निर्देशन राजु तामाङले, सेट डिजाइन राजु पेन्टरले, कला निर्देशन सन्तोष लामाले र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।