काठमाडौं । नेपाली मौलिक लोक संस्कृति संरक्षण र यसको प्रवर्द्धनमा पत्रकार तथा सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको छ।
पुस २ र ३ गते सिन्धुपाल्चोकको सुकुटेमा हुने दुईदिने प्रशिक्षणमा लोक संस्कृति, पत्रकारिता र समकालीन सञ्चार अभ्यासबीचको अन्तरसम्बन्धलाई केन्द्रमा राखेर गहन छलफल र अभ्यास गरिनेछ। कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले प्रशिक्षण दिनेछन्।
कार्यक्रम संयोजक तथा लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरिप्रसाद दुलालका अनुसार पत्रकारहरूले लोक संस्कृतिलाई समाचार र सामग्रीमा कसरी जिम्मेवार ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रित प्रशिक्षणको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो।
उपत्यकासहित विभिन्न शाखा र संस्थामा आबद्ध लोक सञ्चारकर्मी, साथै विभिन्न मिडिया सञ्चालकहरूको सहभागितामा हुने प्रशिक्षणलाई संगठनले दीर्घकालीन प्रभाव पार्ने अभियानको रूपमा लिएको छ।
सुकुटे रिभरफन बीच रिसोर्टमा आयोजना हुने कार्यक्रममा नेपाटेक मार्ट मुख्य प्रायोजक रहेको छ भने गोकर्णेश्वर नगरपालिका–५ र ६ वडा कार्यालय, इन्द्रेणी सांस्कृतिक विकास केन्द्र तथा सोफा हब सहयोगी संस्थाका रूपमा जोडिएका छन्।
लोक संस्कृति र पत्रकारिताबीचको सेतु बलियो बनाउने लक्ष्यसहित आयोजना हुन लागेको यो प्रशिक्षणलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ऐतिहासिक पहलका रूपमा प्रस्तुत गरेको छ।







२८ मंसिर २०८२, आईतवार ०९:५६ 








