काठमाडौँ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ थप नजिक पुर्याउने लक्ष्यसहित इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (INFFA) ले आफ्नो आगामी संस्करण भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ। सन् २०२६ फेब्रुअरी १ देखि ३ तारिखसम्म सञ्चालन हुने यो महोत्सवले नेपाली सिनेमालाई सीमापार बजार र दर्शकसँग जोड्ने प्रयास गर्ने आयोजकको भनाइ छ।
आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महोत्सवमा सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू प्रतियोगिताका लागि छनोट गरिनेछन्। फिल्म बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ। यसले नेपाली निर्माता–निर्देशकलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।
महोत्सवमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनय र विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। यससँगै रेड कार्पेट अवार्ड समारोह, फिल्म प्रिमियर, विशेष प्रदर्शन, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिनेछन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्रकर्मी तथा समीक्षकको सहभागिताले महोत्सवलाई थप बहुआयामिक बनाउने अपेक्षा गरिएको छ।
यस संस्करणको निर्णायक मण्डलको प्रमुख जूरी वरिष्ठ अभिनेता कृष्ण मल्ल रहनेछन्। जूरी सदस्यमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री विपना थापा तथा भारतका चर्चित थिएटर अभिनेता अभतार साहनी रहेका छन्।
नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (INFFA) का अध्यक्ष राजेन्द्र घिमिरे रहेका छन् भने महोत्सव निर्देशक (नेपाल) का रूपमा जनक दीप पराजुली रहनेछन्। आयोजकले महोत्सवमा हजारौँ दर्शक र चलचित्रकर्मी सहभागी हुने अपेक्षा व्यक्त गर्दै, यसलाई उदाउँदा प्रतिभा र स्थापित फिल्म उद्योगबीच सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।







२९ मंसिर २०८२, सोमबार ११:५२ 








