काठमाडौँ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट ब्लकबस्टर सफलता चाखेका निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ घोषणा गरेसँगै दर्शकमाझ उत्सुकता बढेको छ। तर शीर्षकले संकेत गरेजस्तो यो फिल्म नुवाकोटको सिन्दुरे जात्राकै कथामा आधारित भने नरहेको निर्देशकले स्पष्ट पारेका छन्।
टाइटल र टिजरले परम्परागत जात्राको कथा झल्काए पनि पौडेल भन्छन्, “सिन्दुरे जात्रासँग फिल्म कहीँ न कहीँ जोडिन सक्छ, तर यही जात्राको कथा भन्ने सिनेमा होइन।” शीर्षकमार्फत दर्शकलाई अनुमान गर्न बाध्य बनाउने रणनीति नै फिल्मको पहिलो ‘सरप्राइज’ भएको संकेत उनको भनाइबाट झल्किन्छ।
जेठमा छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रको कलाकार र विस्तृत कथाबारे भने निर्देशकले अझै पर्दा नखोलेका छन्। सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन तथा स्वयं पौडेलको कथामा बन्ने फिल्म सारंगी फिल्म्सको प्रस्तुति हो, जसका निर्माता प्रभाकर श्रेष्ठ हुन्।
आरआर फिल्म्सले वितरण गर्ने ‘सिन्दुरे जात्रा’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। रिलिज मिति तय नभए पनि नाम र मौनताले नै फिल्मलाई चर्चाको केन्द्रमा राख्न सफल भएको देखिन्छ।







२९ मंसिर २०८२, सोमबार १७:३६ 








