काठमाडौं । माघ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’ले रोमान्सभन्दा बाहिरको कथा बोकेको संकेत दिइरहेको छ। सार्वजनिक पोस्टर र टिजरले एक युवतीको जीवनसंघर्ष र भावनात्मक उतार–चढाव झल्काइसकेको फिल्मले अब गीतमार्फत पनि दर्शकको मन छुने प्रयास गरेको छ।
ललितपुरको लाबिम मलमा सार्वजनिक गरिएको ‘तिमी भए काफी’ बोलको गीतले फिल्मको भावनात्मक पक्षलाई उजागर गरेको छ। गीतमा नायिका आना शर्मा र नव–नायक समीर श्रेष्ठबीचको सम्बन्ध प्रेममा सीमित नभई आत्मीयता र भरोसामा आधारित देखिन्छ। थाइल्याण्डको सुन्दर लोकेशनमा खिचिएको भिडियोमा आना शर्माको फरक गेटअप र सहज प्रस्तुतिले गीतलाई थप प्रभावशाली बनाएको छ।
समीर श्रेष्ठकै स्वर रहेको गीतमा सास्वतको संगीत छ। आकर्षक सिनेमाटोग्राफी र कोरियोग्राफीले गीतलाई दृश्यात्मक रूपमा बलियो बनाएको छ। निर्देशक सुदिप्ताले प्रेमलाई ग्ल्यामरभन्दा भावनामा केन्द्रित गरेर प्रस्तुत गर्ने प्रयास गरेकी देखिन्छिन्। सागर लम्सालको निर्माण रहेको ‘रमिताको पिरती’मा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठलगायत कलाकारको अभिनय छ। फरक विषय, सशक्त महिला पात्र र नयाँ शैलीका कारण फिल्मले युवा दर्शकमाझ छुट्टै अपेक्षा सिर्जना गरिरहेको छ।




२९ मंसिर २०८२, सोमबार १७:४४ 









