‘मिरमिरे’को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर

...

काठमाडौं । अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘मिरमिरे’ले प्रचार सामग्रीमार्फत दर्शकको ध्यान खिचिरहेका बेला अब यसको गीतले थप चर्चा पाउने संकेत देखिएको छ। बुवा–छोरीको भावनात्मक कथालाई केन्द्रमा राखिएको चलचित्रमा समावेश एक गीतमा दयाहाङ राईकी श्रीमती बेनुका राईको स्वर रहेको सार्वजनिक भएको छ।

टिजरमार्फत चलचित्रको संवेदनशील कथावस्तु झल्काइसकेको निर्माण टिमले कथालाई अझ गहिरो बनाउने उद्देश्यसहित गीतलाई अगाडि ल्याउन लागेको हो। लामो समयपछि चलचित्रका लागि गीत गाएकी बेनुकाको स्वरले ‘मिरमिरे’को कथालाई संगीतमार्फत आत्मीय बनाउने निर्माण पक्षको विश्वास छ। गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत रहेको छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङलगायत कलाकारको अभिनय छ। यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्।

भावनात्मक कथावस्तु, चर्चित कलाकार र अब पारिवारिक सम्बन्ध जोडिएको गीतका कारण ‘मिरमिरे’ दर्शकमाझ फरक स्वाद लिएर आउने अपेक्षा गरिएको छ।