काठमाडौँ । ठाडो भाकालाई राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्याएकी गायिका धनमाया तामाङको २१औँ स्मृतिदिवसले फेरि एकपटक लोकसंगीतको संरक्षण र विरासतलाई निरन्तरता दिनुपर्ने आवश्यकता उजागर गरेको छ। लमजुङको काफलस्वाँरा पुरकाङमा जन्मिएकी तामाङले अहिलेको पुस्तालाई समेत प्रासंगिक लाग्ने धुन र आवाजभरका सिर्जनाले नेपाली लोकभाका समृद्ध बनाउन योगदान दिएकी मानिन्छन्।
लमजुङको सुन्दरबजार–२ परेवाडाँडास्थित शालिकमा वडा कार्यालयले आयोजना गरेको स्मरण कार्यक्रममा परिवारजन र स्थानीयबासीको सहभागीता रह्यो। सो अवसरमा उनका छोरी, नातिनी र स्थानीय कलाकारहरूले उनको कलात्मक यात्रालाई स्मरण गरेका थिए।
त्यस्तै, छोरा तथा सहगायक डा। आशबहादुर तामाङले काठमाडौंस्थित निवास र स्वयम्भूमा दीप प्रज्वलन गरी आमाप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले धनमायालाई केवळ आमा नभई नेपाली लोक दोहोरी र ठाडो भाकाको प्रेरणाको स्रोतका रूपमा स्मरण गर्दै उनका पुरातन गीत आज पनि गाउँघरदेखि सहरसम्म गुन्जिरहेको बताए।
इटहरीको संगीत साधना प्रतिष्ठानले स्मृतिदिवसमा दिएको सांस्कृतिक श्रद्धाञ्जली कार्यक्रमले तामाङको सिर्जनात्मक उपस्थितिलाई भावनात्मक रूपले पुनर्जीवित गर्यो। प्रतिष्ठानका अध्यक्ष राजु केसीले धनमाया तामाङको देहावसानले भौतिक उपस्थिति अन्त्य भए पनि निर्माण गरिएको सांगीतिक “विरासत” अझै लोकभाकाको धरोहर बनेर बाँचिरहेको टिप्पणी गरे।
उनको स्मृतिदिवसले कलाकार, परिवार र संगीतकर्मीबीच ठाडो भाका र लोकसंगीतजस्ता मौलिक शैलीलाई संरक्षण र प्रसार गर्नुपर्ने साझा भावनालाई पुनः झल्काएको छ। विशेषगरी नयाँ पुस्तालाई लोकसंगीतप्रति आकर्षित गर्ने र पुराना सिर्जनालाई अभिलेखिकरण गर्ने पहल अब आवश्यक रहेको बहस पनि कार्यक्रमहरूमा उठाइएको थियो।







६ पुष २०८२, आईतवार १७:२३ 








