काठमाडौँ । सफल फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेर चर्चामा आएका अनिल बुढामगरले आफ्नो दोस्रो फिल्म ‘मितज्यू’लाई पेशेवर ढङ्गले तयार पार्न विस्तृत वर्कसप सुरु गरेका छन्। शनिवारदेखि आरम्भ गरिएको वर्कसपलाई फिल्म उद्योगमा गुणस्तर सुधार, कलाकार तयारी र लागत व्यवस्थापनका आधुनिक अभ्यासको महत्त्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।
तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकार सहभागी वर्कसपमा क्यारेक्टर स्केच, संवाद अभिव्यक्ति र व्यवहारिक दृश्य अभ्यासमा केन्द्रित रहेको निर्देशक मगरको भनाइ छ। उनले वर्कसपको उद्देश्य कलाकारलाई भूमिकामा डुब्न, कथा बुझ्न र सेटमा सहजता बढाउन रहेको बताए।
निर्माता जनक घर्ती मगरका अनुसार छायांकनमा समय र खर्च दुवै बचत गर्न वर्कसप उपयोगी हुने अपेक्षा छ। उनका भनाइमा, “फ्लोरमा पुगेपछि एक्सन–कटमा मात्रै निर्भर हुँदा मनोनुकूल दृश्य नआउन सक्छ, त्यसैले तयारीलाई प्राथमिकता दिइएको हो।”
फिल्म आगामी माघको पहिलो साताबाट शुटिङमा जानेछ। विस्तृत कलाकार सूचीमा दयाहाङ राई, सौगात मल्लदेखि तेरिया फौजा मगर र पुस्कर गुरुङसम्मको उपस्थिति रहेको छ, जसले फिल्मलाई स्टार–स्टडेड परियोजना बनाएको छ। सहायक निर्देशकदेखि सम्पादन, छायांकन, संगीत र द्धन्द्व निर्देशनसम्ममा पनि अनुभवी प्राविधिक टिम संलग्न छन्।
रोल्पाका विभिन्न स्थानमा सुटिङ हुने ‘मितज्यू’ आगामी जेठ १५ गते गणतन्त्र दिवसकै दिन प्रदर्शनमा आउने लक्ष्य राखिएको छ। वर्कसप प्रक्रियालाई प्राविधिक तथा कलात्मक तयारीसँग जोड्दै छायांकन पूर्व योजना उत्पादन पक्षले नेपाली फिल्म उद्योगमा सुव्यवस्थित निर्माण संस्कृतिको संकेतका रूपमा देखिँदैछ।







६ पुष २०८२, आईतवार १७:२७ 








