काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सेयर धितो कर्जा लिन इच्छुक लगानीकर्तालाई लक्षित गर्दै ‘फास्ट लोन अगेन्स्ट शेयर’ नामक डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । यसमार्फत ग्राहकहरूले आफ्ना सेयरहरू धितो राखी अनलाइनमार्फत सहज र छिटो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
अनलाइनबाटै आवेदन प्रक्रिया पूरा गरी आवश्यक कागजातहरू अपलोड गर्न सकिने सुविधा रहेको बैंकले बताएको छ । कर्जा स्वीकृतिसम्बन्धी अन्तिम प्रक्रियाका लागि भने एकपटक मात्र नजिकको शाखा कार्यालयमा उपस्थित भई कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।
बैंकका अनुसार यस प्रणालीले आवेदकलाई कर्जा प्रक्रियाको अवस्था स्वयम् अनुगमन गर्ने सुविधा पनि उपलब्ध गराएको छ । प्रारम्भिक चरणमा न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा उपलब्ध रहनेछ ।
धितोको रूपमा स्वीकार गरिने सेयर भने आवेदक स्वयंकै नाममा रहेको हुनुपर्नेछ । तेस्रो पक्षको सेयर धितो स्वीकार नहुने बैंकले स्पष्ट पारेको छ । हाल यो सेवा बैंकका ३१ शाखाबाट उपलब्ध गराइनेछ । अनलाइन आवेदन दिने क्रममा लगानीकर्ताले आफूलाई अनुकूल शाखा छान्न सक्नेछन् । बैंकले यो सुविधा आफ्नो डिजिटल युनिभर्समार्फत समेत सञ्चालनमा ल्याएको छ । यसले सेयर बजारमा सक्रिय लगानीकर्तालाई कर्जा प्रक्रिया झनै सहज र डिजिटलमैत्री बनाउने विश्वास गरिएको छ ।







७ पुष २०८२, सोमबार १३:५५ 








