काठमाडौं ।सामाजिक–राजनीतिक विषयवस्तुमा आधारित चलचित्र ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै‘’ सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । माघ ९ गते प्रदर्शनमा आउन लागेको चलचित्रको यस गीतमा युवराज चौलागाईं र अनु चौधरीको सुमधुर स्वर रहेको छ ।
बेनीशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द तथा संगीत अर्जुन पोखरेलले दिएका हुन् । गीतले कथाको भावनात्मक पक्षलाई उजागर गर्दै प्रेम, आशा र संवेदनाको अनुभूति दिलाउँछ । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’का कथाकार तथा निर्माता दिनेश कोइराला हुन् । राजनीति, परिवार, समाज र सम्बन्धलाई एउटै सूत्रमा बाँध्दै तयार गरिएको चलचित्रले फरक स्वाद दिने संकेत फर्स्टलुक र टिजरबाटै दिएको थियो ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, सरोज खनाल, शिसिर वाङ्देललगायत कलाकारको अभिनय रहेको छ । माघ ९ बाट दर्शकमाझ पुग्न लागेको ‘बिगुल’लाई सामाजिक सन्देश र मनोरञ्जनको सन्तुलित प्रस्तुति गर्ने चलचित्रका रूपमा हेरिएको छ ।







८ पुष २०८२, मंगलवार १२:४१ 








