धिरेन शाक्य र राजेन्द्र खड्गी सम्मानित, ३२ विधामा आदिवासी अवार्ड प्रदान

...

काठमाडौँ । चलचित्र तथा गीत–संगीत क्षेत्रका आदिवासी जनजाति स्रष्टा र कलाकारलाई सम्मान गर्ने उद्देश्यले आयोजित तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उद्घाटनसँगै सुरु भएको अवार्ड समारोहमा लिम्बु, तामाङ र गुरुङ समुदायका कलाकारहरूले आफ्नो मौलिक लोकगीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

समारोहमा अभिनेता धिरेन शाक्य, अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी तथा अग्रज लोकगायक कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरिएको थियो । यस्तै अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, कलाकार तथा व्यवसायी टासी गुरुङ र ह्याङला हिरमठिम तामाङ डम्फु संघ नेपाललाई पनि सम्मान गरिएको थियो ।

अवार्डको निर्णायक मण्डलमा निर्देशक दिनेश लिङदेन, संगीत संयोजक डिका गुरुङ, संगीतकार आरम्भ तामाङ र राज लिम्बु शुक्र रहेका थिए । स्वागत मन्तव्यमा अवार्ड संयोजक शनि लिम्बुले आदिवासी समुदायको गीत–संगीत र चलचित्रलाई एकै थलोमा जोड्ने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको बताइन् । कार्यक्रमका अध्यक्ष उमेश गुरुङले राज्यबाट उपेक्षित आदिवासी जनजाति समुदायलाई अवार्ड र सम्मानमार्फत प्रोत्साहन गर्ने प्रयास जारी रहेको उल्लेख गरे ।

आदिवासी चलचित्रतर्फ उत्कृष्ट चलचित्रको अवार्ड ८८लिम्बु चलचित्र ‘नाम ओती’८८ले प्राप्त गर्‍यो भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ८८‘टुहुरी’८८बाट जनक गुरुङले हासिल गरे । उत्कृष्ट अभिनेताको अवार्ड पूर्ण बहादुर लिम्बु र उत्कृष्ट अभिनेत्रीको अवार्ड रुपा एस घलेले प्राप्त गरे ।

तामाङ सेलो, म्हेन्दोमाया, गुरुङ, लिम्बु तथा मौलिक गीत–संगीतका विभिन्न विधामा गायक, गायिका, मोडल, निर्देशक, गीतकार, संगीतकार, छायाँकार तथा बाल कलाकार गरी कुल ३२ विधामा अवार्ड प्रदान गरिएको थियो ।

वर्षको सर्वोत्कृष्ट आदिवासी गीतको अवार्ड ‘हङकङको चिनो’ ले हात पार्दा तमु समाज युके ले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ । कार्यक्रम ८८ क्वालिटी फिल्मस् प्रा.लि.८८को आयोजनामा सम्पन्न भएको हो ।