काठमाडौँ । नेपालका आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति, गीत–संगीत तथा चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको सहकार्यमा पुस १० गते काठमाडौँको चावहिलस्थित बोर्डको मुख्य हलमा अवार्ड समारोह आयोजना गरिएको हो।
समारोहमा देश तथा विदेशमा क्रियाशील आदिवासी जनजाति समुदायका कलाकार, सर्जक तथा चलचित्रकर्मीहरूलाई विभिन्न ३४ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। आदिवासी जनजाति समुदायको कला, संस्कृति र सिर्जनालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले उल्लेखनीय सहभागिता पाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा कविता आले, धिरेन शाक्य तथा राजेन्द्र खड्कीको उपस्थिति रहेको थियो। अवार्ड समारोह क्वालिटी फिल्मस्को आयोजनामा सम्पन्न भएको हो भने कार्यक्रमको संयोजन उमेश गुरुङ र सनी लिम्बुले गर्नुभएको थियो।
यस अवसरमा वरिष्ठ पत्रकार अनिल गुरुङ तथा अग्रज गायक एवं संगीतकार कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ। आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।






१४ पुष २०८२, सोमबार १५:११ 








