‘बिगुल’को गीतले चुनावी माहौलमा जन्मायो उत्साह

...

काठमाडौं । चलचित्र ‘बिगुल’ मा समावेश गीत ‘आउ यस्तो देश बनाऔं’ आइतबार सार्वजनिक भएको छ। नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको यो गीत गायक राजेश पायल राईले प्रस्तुत गरेका छन्। गीतमा चलचित्रका सबै प्रमुख कलाकारको उपस्थितिले थप आकर्षण थपेको छ।

रमेश कोइरालाको निर्देशनमा बनेको र दिनेश कोइरालाको कथा तथा निर्माण रहेको ‘बिगुल’ माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ। ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा देशप्रेम, राष्ट्रभक्ति, समावेशिता, शान्ति र जनजागरणको संदेश समेटिएको छ। गीतमा राष्ट्रिय झण्डासहित कलाकारहरू घरदैलो जागरणात्मक अभियानमा देखिएका छन्, जसले आम निर्वाचन नजिकिँदै गर्दा चुनावी माहौल झल्काउने काम गरेको छ।

चलचित्रका निर्माता अनुसार, गीतमा आम जनताको आवाज मुखरित भएको दाबी गरिएको छ। चलचित्रका निर्देशक रमेश कोइरालाले भने, “‘बिगुल’ भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरेको चलचित्र हो। देशको समसामयिक घटनाक्रम र राजनीतिक विषय समेटिए पनि चलचित्र पूर्ण व्यवसायिक दृष्टिले निर्माण गरिएको हो। समाज जागरणको सन्देशका साथ मनोरञ्जनको भरपूर प्रस्तुति गरिएको छ।”

जेन्जी आन्दोलनप्रति समर्पित यस चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मा लगायतको अभिनय रहेको छ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला सह–निर्माता रहेको चलचित्रको पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ। चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्।

चलचित्रको वितरण राजधानीभित्र काफिया फिल्म्स र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन्।