‘आ बाट आमा’को शीर्ष गीतमा कभर प्रतियोगिता, ५० हजार नगद पुरस्कार

...

काठमाडौं । फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ मा कभर गायन र अभिनय गर्ने अवसरमा ५० हजार रुपैयाँ नगद पुरस्कार जीत्ने मौका खुल्ला भएको छ। निर्माण टिमले सोमबार प्रतियोगिता घोषणा गरेको हो।

प्रतियोगितामा इच्छुकले गीतको कभर गायन गर्नु पर्ने छ भने अभिनयमा रुचि राख्नेले भिडियोमा अभिनय गर्नुपर्नेछ। सहभागीले आफ्नै भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्नेछ। सो मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतियोगितामा समावेश गरिनेछ।

निर्देशक चन्द्र पन्तका अनुसार उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। भिडियो अपलोड गर्दा सहभागीहरूले ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp लाई मेन्सन गर्नुपर्नेछ।

आर्य इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा’ को उक्त गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ। फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली मुख्य भूमिकामा रहेका छन्।

संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडा, छायांकन डीओपी नवराज उप्रेती, संवाद अभिमन्यू निरवी द्वारा लेखिएको छ। सह–लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्त, लगानीमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना, कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउदैछ।