काठमाडौं – नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई केन्द्रमा राखेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो ढङ्गमा प्रस्तुत गरिएको यस सिरिजले मनोरञ्जनसँगै समसामयिक सामाजिक विषयमा व्यङ्ग्यात्मक सन्देश दिन खोजेको छ।
सागर ज्ञवालीको परिकल्पना तथा निर्देशनमा बनेको ‘लट्ठक’ उनका लागि निर्देशन यात्राको औपचारिक डेब्यु मानिएको छ। करिब चार वर्षअघि निर्देशन यात्रा सुरु गरेका ज्ञवालीले हालसम्म सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने अहिले चलचित्र ‘मालती मंगले’ निर्माणमा समेत संलग्न छन्। दर्शकको सकारात्मक प्रतिक्रिया आएमा ‘लट्ठक’ को दोस्रो सिजन ल्याइने उनको भनाइ छ।
सिरिजमा सुभाष गजुरेल, अभय राज बराल, शकु शाह, कविता आले, रोकीत कार्की, रणजीत राणा, रोहित खत्री, शिला खनाल, जीवन जङ्ग थापा, दिवस विक्रम बोहरा, मानिषा भुजेल, इन्द्रजित चौलागाईं, लक्ष्मण चौलागाईं, उमिशा पाण्डे, सरिता भण्डारी, रचना पौडेल, गीता खड्का, श्रेया दुलाल र केबी पौडेललगायत कलाकारको अभिनय रहेको छ। सुभाष गजुरेल ‘स्वाहा बाजे’को भूमिकामा देखिएका छन्।
म्युजिक नेपाल र ओरिजिनल मिडियाको प्रस्तुतिमा तथा अफ सिन्क फिल्म्सको सहकार्यमा निर्माण भएको यस सिरिजको छायाङ्कन नारायण जी.सी.ले गरेका छन्। सम्पादन तथा रङ संयोजन अनिल कुमार महर्जनको रहेको छ। कथा काजी लिम्बुको हो भने शीर्ष गीत दीक्षित अधिकारीले तयार पारेका छन्। ‘लट्ठक’ म्युजिक नेपालको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।






१६ पुष २०८२, बुधबार १३:५२ 










