चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ माल्टामा प्रदर्शन हुने, विदेशमा बढ्दै माग

...

काठमाडौँ । गीत र पोस्टर सार्वजनिक भएलगत्तै चर्चामा आएको नेपाली फिल्म ‘आ बाट आमा’ ले विदेशमा पनि बजार विस्तार गर्न थालेको छ। आगामी माघ १६ गते देखि नेपालमा प्रदर्शन हुने तयारीमा रहेको यस फिल्मको माल्टाका लागि प्रदर्शन अधिकार बिक्री भएको छ।

परदेशिएका नेपालीको जीवन र भावनासँग जोडिएको कथावस्तुका कारण विदेशमा समेत फिल्मप्रति चासो बढ्दै गएको हो। निर्माण टिमले माल्टामा फिल्म प्रदर्शनका लागि त्यहाँका वितरक सुवास ढकाल र विकास ढुङ्गाना सँग सम्झौता गरेको छ। माल्टामा नेपाली फिल्म वितरण गर्दै आएका उनीहरूले त्यहाँ रहेका नेपाली दर्शकलाई लक्षित गर्दै ‘आ बाट आमा’ खरिद गरेका हुन्।

फिल्मका निर्देशक चन्द्र पन्त ले माल्टाका लागि प्रदर्शन अधिकार राम्रै मूल्यमा बिक्री भएको जानकारी दिँदै विदेशमा आफ्नो फिल्मको माग बढ्नुलाई उत्साहजनक बताए। उनले आगामी दिनमा अन्य मुलुकसँग पनि सम्झौता हुने संकेत गरेका छन्।

आर्या इन्टरटेन्मेन्ट को प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को संगीत रहेको छ।

गीतका भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडा ले गरेका छन् भने छायांकन नवराज उप्रेती ले गरेका हुन्। संवाद लेखनमा अभिमन्यू निरवी, अमर न्यौपाने र चन्द्र पन्त को सहकार्य रहेको छ। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना को लगानी छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्।

फिल्मको सम्पादन मिलन श्रेष्ठ ले गरेका छन् भने ट्रेलर र टिजर साहिल खान ले तयार पारेका हुन्। नेपालमा फिल्मको वितरण आरआर फिल्म्स ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ।