काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)ले माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको आफ्नै फिल्म ‘गोबर गणेश’को प्रचारमा अनौठो र सिर्जनात्मक शैली अपनाएका छन्। उनले गुड्ने जहाजको आकृति तयार पारेर सडक–सडकमा पुग्दै फिल्मको प्रचार थालेका हुन्।
यस प्रचार यात्रामा मरिचमानसँगै अभिनेत्री पुजन घिमिरे पनि सहभागी भएकी छन्। उनीहरू दुवै पाइलट र एअरहोस्टेजको पोशाकमा देखिँदै सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै फिल्मबारे जानकारी दिइरहेका छन्। सडकबाटै सुरु गरिएको यस अभियानले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ।

मरिचमानका अनुसार ‘गोबर गणेश’बारे हरेक स्थानमा र हरेक व्यक्तिसम्म जानकारी पुगोस् भन्ने उद्देश्यले यस किसिमको प्रचार सुरु गरिएको हो। फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् भने निर्देशनको जिम्मेवारी पनि उनैले सम्हालेका छन्। चलचित्रमा अभिनेत्री बर्षा सिवाकोटीको पनि प्रमुख अभिनय रहेको छ।

ग्रामीण परिवेश र सामाजिक व्यङ्ग्य समेटिएको ‘गोबर गणेश’ माघ १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ।

तस्बिरः शिखर श्रेष्ठ






१६ पुष २०८२, बुधबार १५:२३ 










