भाइरल बन्ने सपना र वास्तविकताको कथा, माघ १ बाट ‘भाइरल गोर्खे’ प्रदर्शनमा

...

काठमाडौँ । माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तु, चरित्र र समसामयिक सन्देशलाई प्रभावकारी ढंगले उजागर गरेको छ।

ट्रेलरले सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनाले मानिसलाई कति टाढासम्म लैजान सक्छ भन्ने विषयलाई केन्द्रमा राखेको देखिन्छ। मुख्य पात्र सौगात मल्ल ९गोर्खे० ले टिकटक र अन्य सामाजिक सञ्जालमा चर्चित बन्न अनौठा र जोखिमपूर्ण हर्कत गर्ने संघर्षपूर्ण यात्रा ट्रेलरमा प्रस्तुत गरिएको छ। रिलको दुनियाँमा स्टार बन्ने उसको सपना र वास्तविक जीवनमा भोग्नुपर्ने यथार्थबीचको द्वन्द्व नै फिल्मको मुख्य कथावस्तु हो।

फिल्ममा सौगात मल्लसँग अभिनेत्री सृष्टि श्रेष्ठको जोडी देख्न पाइनेछ। ट्रेलरमा देखिएको उनीहरूको सम्बन्ध, भावनात्मक उतारचढाव र सामाजिक दबाबले कथालाई थप रोचक बनाएको छ। ‘भाइरल गोर्खे’ले पछिल्लो समय नेपाली समाजमा तीव्र रूपमा बढ्दै गएको “भाइरल हुने होड” लाई व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरेको देखिन्छ।

यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशन गरिसकेका निर्देशक निगम श्रेष्ठले यो फिल्ममार्फत समसामयिक विषयवस्तुलाई फरक प्रस्तुतिमा ल्याएका छन्। निर्देशक श्रेष्ठले सामाजिक सञ्जालले सिर्जना गरेको मनोविज्ञान र त्यसको प्रभावलाई दर्शकले आफ्नै जीवनसँग जोडेर हेर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ।

फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् भने सह–निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल रहेका छन्। अमर महर्जनको सिनेमाटोग्राफी रहेको ‘भाइरल गोर्खे’ लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो।

सुनिल मानन्धरले वितरण गरेको फिल्मको द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् भने सम्पादन बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्माले गरेका हुन्। ट्रेलरले दर्शकमाझ राम्रो उत्साह जगाएकाले ‘भाइरल गोर्खे’ले प्रदर्शनसँगै चर्चा पाउने अपेक्षा गरिएको छ।