कमेडी दरबार टिमसहित शोभित बस्नेतको ‘अस्ट्रेलिया टुर’ तयारी

...

काठमाडौँ । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई लिएर निर्देशक तथा निर्माता शोभित बस्नेतले अस्ट्रेलिया टुरको तयारी सुरु गरेका छन्। उक्त टुरका लागि निर्देशक बस्नेत र ‘कमेडी दरबार’का प्रतिनिधि विक्की अग्रवालबीच औपचारिक कागजी सम्झौता सम्पन्न भइसकेको छ।

सम्झौतापछि निर्देशक बस्नेतले अस्ट्रेलियामा रहेका नेपाली दर्शकलाई प्रत्यक्ष मनोरञ्जन प्रदान गर्ने उद्देश्यले टुर आयोजना गर्न लागिएको जानकारी दिए। उनले भने, “अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै ‘कमेडी दरबार’ टिमसहित विशेष कार्यक्रम गर्ने तयारी पूरा भइसकेको छ।”

उनका अनुसार यो टुर आगामी फेब्रुअरी महिनाको मध्यतिरबाट सुरु भई करिब एक महिनासम्म सञ्चालन हुनेछ। टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन र न्युक्यासललगायत करिब ८ वटा प्रमुख शहरमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा ‘कमेडी दरबार’का अधिकांश लोकप्रिय कलाकारको सहभागिता रहने बताइएको छ।

कार्यक्रमको पूर्वतयारी तथा व्यवस्थापनका लागि निर्देशक शोभित बस्नेत चाँडै नै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा रहेका छन्। यस कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने टुर आयोजकका रूपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट संयुक्त रूपमा रहनेछन्।

यसैबीच, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने योजना सार्वजनिक गरेका छन्। उनीहरूले अब प्रत्येक दुई महिनामा अस्ट्रेलियाका विभिन्न शहरमा नियमित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेका छन्।

यसअघि शम्भुजित बास्कोटा, यम बराल, आनन्द कार्कीलगायतका चर्चित कलाकारहरूले अस्ट्रेलियाका विभिन्न शहरमा सफल प्रस्तुति दिइसकेका छन्। ‘कमेडी दरबार’ टिमको यो टुरले अस्ट्रेलियामा रहेका नेपाली दर्शकमाझ थप उत्साह थप्ने अपेक्षा गरिएको छ।