काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशव्यापी रूपमा १९ वटा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले यसपटक पनि वार्षिकोत्सवलाई सामाजिक योगदानसँग जोड्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानविय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ।
कार्यक्रमअन्तर्गत बैंकले गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी सातै प्रदेशमा विभिन्न स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्नेछ। ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ अन्तर्गत सात प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ, जहाँ स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण गरिनेछ। प्रारम्भिक अवस्थामा गम्भीर समस्या देखिएका महिलाको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिने बैंकले जनाएको छ।
त्यसैगरी, सात प्रदेशका विभिन्न स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गरिनेछ। साथै, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० गरिब तथा विपन्न विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यक चश्मा निःशुल्क वितरण गरिनेछ। स्वास्थ्य सेवा विस्तारका लागि अन्य स्वास्थ्य शिविर र जटिल तथा दीर्घ रोगका बिरामीको उपचारमा आर्थिक सहयोग पनि प्रदान गरिनेछ।
शिक्षा क्षेत्रतर्फ गरिब तथा जेहेन्दार छात्रालाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति, दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, साथै उच्च शिक्षामा एमफिल तथा पीएचडी शोध–अनुसन्धानका लागि आर्थिक सहयोग कार्यक्रमसमेत समेटिएका छन्।
वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कूल कार्यक्रमअन्तर्गत वृक्षारोपण, प्लास्टिक विस्थापन, सरसफाइ तथा फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यसका साथै, रक्तदान, आश्रम तथा बालगृह सहयोग, अटिजमसम्बन्धी सचेतना, खेलकुद सामग्री वितरण तथा उद्यमशाला कार्यक्रममार्फत सीपमूलक तालिम प्रदान गर्ने योजना पनि बैंकले अघि सारेको छ।
बैंकले आफ्ना ३५२ शाखामार्फत वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै डिजिटल ठगी न्यूनीकरण र बैंकिङ प्रणालीमा जनसहभागिता बढाउने लक्ष्य लिएको छ। वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर बैंकले नेपाली बैंकिङ क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको विश्वास व्यक्त गरिएको छ।






१८ पुष २०८२, शुक्रबार १४:५१ 










