टंक बुढाथोकी फेरि फिल्म निर्माणमा, ‘बा–आमा’ शीर्षकमा पारिवारिक कथा आउँदै

...

काठमाडौं | गायक तथा संगीतकार टंक बुढाथोकी दोस्रो पटक नेपाली चलचित्र निर्माणमा होमिएका छन्। सफल सांगीतिक यात्रापछि फिल्म निर्माणमा प्रवेश गरेका बुढाथोकीले नयाँ चलचित्र ‘बा–आमा’ निर्माण गर्ने घोषणा गरेका हुन्।

यसअघि उनले निर्माण गरेको चलचित्र ‘मन बिनाको धन’ ले बक्स अफिसमा करिब चार करोड रुपैयाँको कारोबार गर्दै उत्साहजनक सफलता हासिल गरेको थियो। सोही सफलतापछि बुढाथोकीले पुनः आफ्नै सिर्जनाबाट प्रेरित चलचित्र निर्माण गर्ने निर्णय गरेका हुन्।

‘बा–आमा’ चलचित्रमा बालगायक अशोक दर्जी र टंक बुढाथोकीका छोरा एआर बुढाथोकी पुनः अभिनयमा देखिनेछन्। अन्य कलाकारहरूको छनोट भने आगामी दिनमा गरिने निर्माण पक्षले जनाएको छ। चलचित्रको शीर्षक चलचित्र विकास बोर्डमा औपचारिक रूपमा दर्ता भइसकेको छ।

टंक बुढाथोकीकै कथामा निर्माण हुन लागेको यस चलचित्रको पटकथा तथा संवाद लेखक शिवम् अधिकारी रहेका छन्। निर्माण पक्षका अनुसार स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ र त्यसपछि कलाकार छनोट प्रक्रिया अघि बढाइनेछ। चलचित्रको छायांकन आगामी वैशाख महिनादेखि सुरु गर्ने तयारी छ।

चलचित्रको कथा टंक बुढाथोकीको चर्चित गीत ‘बा–आमा’ बाट प्रेरित रहनेछ। करिब पाँच वर्षअघि सार्वजनिक भएको उक्त गीतले दर्शक–श्रोताबाट निकै माया पाएको थियो। बुढाथोकीले पहिलो चलचित्रमा देखिएका कमजोरीहरू सुधार गर्दै अझ परिपक्व र भावनात्मक चलचित्र प्रस्तुत गर्ने लक्ष्य रहेको बताएका छन्।

यसअघि ‘मन बिनाको धन’ गीतलाई चलचित्रको रूप दिएका बुढाथोकीले फेरि अर्को हिट गीतको शीर्षकमा फिल्म निर्माण गर्न लागेका हुन्। ‘बा–आमा’ पारिवारिक भावना, सामाजिक यथार्थ र सम्बन्धको कथामा आधारित हुने बताइएको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बा–आमा’ की निर्माता विष्णुमाया मैनाली रहनेछिन्।